विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ
काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ।
विदेशबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको सुरक्षा जाँचका क्रममा सुनसहित ४५ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट रु एक करोड २५ लाख १८६ बराबरको सुन बरामद भएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करले सुन भित्र्याउने गरेको पाइएको छ। यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गराउने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी बढाइएको प्रहरीको भनाइ छ।
बरामद सुन तथा पक्राउ परेकाका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। घटनामा संलग्न देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
चोरी भएको ट्याक्सी फेला पारी ट्राफिक प्रहरीद्वारा हस्तान्तरण
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङस्थलबाट चोरी भएको ट्याक्सी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । पार्किङ गरिएको स्थानबाट चोरी भएको बा२ज २७८४ नम्बरको ट्याक्सी खोजीका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा लुकाइराखेको अवस्थामा फेलापरेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार चोरी भएको ट्याक्सी फेलापरेपछि आज सम्बन्धित धनीलाई बुझाइएको हो। चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए।
काठमाडौं उपत्यकामा मोटरसाइकललगायत सवारीसाधन चोरी रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए। उनका अनुसार उपत्यकाबाट हराएका तथा चोरी भएका सवारीसाधनको खोजी तथा नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत हराएका तथा चोरी भएका सवारीसाधन फेलापर्ने क्रम जारी रहेको उनले बताए।
चोरी भएको आफ्नो ट्याक्सी आज पाएपछि सवारीधनी निकै खुसी हुनुका साथै ट्राफिक प्रहरीलाई धन्यवादसमेत दिएका थिए। ट्राफिक प्रहरीका अनुसार गत साउन र भदौमा मात्रै १४६ वटा चोरी भएका र हराएको स्कुटी तथा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment