बेँसीसहर-चामे सडकमा खसेको ढुङ्गा हटाउन समस्या

डिसी नेपाल
१ असोज २०८३ २१:१५

मनाङ। मनाङको लाइफलाइन (प्रमुखआधार) का रूपमा रहेको बेँसीसहर-चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ। बुधबार बिहान नासोँ गाउँपालिका-३ खोत्रोमा खसेको ठूला ढुङ्गासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बुधबारदेखि सडक खुलाउने प्रयास भइरहेको बताए। ‘बुधबार दिनभर र बिहीबार ब्लाष्टिङ गरेर हटाउने प्रयास गरिएको छ तर ब्लाष्ट गर्दा पनि ठूलो चट्टान भएकाले फुटेन’, उनले भने, ‘डोजरसहितका उपकरणले पहिरो पन्छाउने प्रयास भइरहेको छ। योसँगै पुनः ड्रिल गर्ने काम पनि भइरहेको छ।’

आज दिनभर सडक खुलाउने प्रयास जारी रहेको बताउँदै प्रजिअ खनालले शुक्रबार बिहानसम्ममा सडक सञ्चालन गर्नेगरी काम भइरहेको जानकारी दिए। ‘ब्लाष्टिङ गरेर पनि ठूलो चट्टान बीच सडकमा अड्किएकाले हटाउन सहज छैन,’ उनले भने, ‘नेपाली सेनालगायत सुरक्षाकर्मी र स्थानीयको सहयोगमा फेरि ब्लास्टिङ गरेर सडक खुलाउने प्रयासमा छौँ।’

नासोँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले पालिका क्षेत्रमा चट्टानसहितको पहिरोले रोकिएको सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए। यहाँको भौगोलिक अवस्थाले गर्दा पनि यस्ता ठूला चट्टान सडकमा खसेपछि समस्या हुनसक्ने अवस्था रहेकाले भैपरि आउने समस्याको समाधानमा सबै जुटेको उनको भनाइ छ।

मस्र्याङ्दी करिडोरअन्तर्गतका यस सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भासिने र पहिरोको जोखिम बढ्दै गएको छ। यस सडकको जोखिम न्यूनीकरणका लागि सडक आयोजनाले समयमा सडक निर्माण गर्न सकेमा मनाङको यात्रा सहज हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *