बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र : त्रिशूली–१ को टनेलभित्र शव र मानव अङ्ग संकलन, ८ हजार ७ सय सेना परिचालन
काठमाडौं। रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। सेनाले हवाई तथा जमिन दुवै मार्गबाट उद्धार कार्य जारी राखेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हवाई साधनमार्फत हालसम्म ४ हजार १८७ जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ९०८ जना स्वदेशी र २८३ जना विदेशी नागरिक रहेका छन्।
बाढीबाट क्षति पुगेका जलविद्युत आयोजनाका सुरुङ (टनेल) हरूमा उद्धार टोलीले विशेष खोजी अभियान चलाइरहेको छ। माथिल्लो त्रिशूली–१ को टनेलभित्र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा फेला परेका शव तथा मानव अङ्गहरू निकाल्ने कार्य गरिरहेको छ। यस्तै, त्रिशूली–थ्री ‘ए’ (३ब्) को टनेल र पावरहाउस क्षेत्रमा खोजी भइरहेको छ भने त्रिशूली–थ्री ‘बी’ को पावरहाउस क्षेत्रमा तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा हालसम्म केही फेला नपरे पनि खोजी कार्य जारी राखिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन्। फौजले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी र अवरुद्ध सडक तथा पुल सुचारु गर्ने कार्य गरिरहेको छ।
रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेत लगायतका स्थानहरूमा अस्थायी बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ। स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूह परिचालित छन्। सडक सम्पर्क विच्छेद भएका दुर्गम स्थान तथा साँघुरा टनेलहरूमा ड्रोन प्रविधिको प्रयोग गरी रेकी गर्ने र राहत सामग्री ढुवानी गर्ने कार्य भइरहेको सेनाले जनाएको छ। साथै, पीडित परिवारलाई धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक सहयोग र आयोजनाका उपकरण ढुवानीमा समेत सेनाले सहजीकरण गरिरहेको छ।
सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज थप २८ जनाको उपचार गरिएको छ। योसँगै हालसम्म उपचार सेवा लिनेको सङ्ख्या ३ हजार ९६६ पुगेको छ।
यसैबीच, बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित शीतल बजारको सडक खुलाउने प्रयास जारी छ। यस्तै, बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहितका सुरक्षा निकायहरू तीव्र रूपमा जुटिरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment