रसुवा बाढी : १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता
रसुवा। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले आज साँझसम्मको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विपद् प्रतिकार्य र उद्धार कार्य तीव्र रूपमा भइरहेको जनाएको छ।
प्रशासनका अनुसार गत भदौ १० गते आएको बाढीका कारण हालसम्म सङ्कलन गरिएका शवमध्ये १५ जनाको पहिचान (सनाखत) खुलेको छ। सनाखत हुनेहरूमा रसुवा, नुवाकोट, धादिङ, कास्की र रामेछापका नागरिकहरू रहेका छन्। कुल १९९ वटा शव फेला परेकामा १५ वटाको सनाखत भइसकेको, ४५ वटाको मुचुल्का मात्र गरिएको र बाँकी शवको मुचुल्का तथा डिएनए परीक्षण गरी सनाखत हुन बाँकी रहेको छ।
बाढीपछि ठूलो सङ्ख्यामा नागरिक तथा पर्यटकहरू सम्पर्कविहीन भएका छन्। प्रशासनका अनुसार रसुवाका एक हजार ६७१, अन्य जिल्लाका एक हजार ८३५ र २७८ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी राखिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीले बताए।
उनका अनुसार विपद्लगत्तै गरिएको उद्धार कार्यअन्तर्गत भदौ ३१ गतेसम्म एक हजार ३७२ नेपाली र ८९ विदेशी पर्यटक गरी कुल एक हजार ४६१ जनाको सकुशल उद्धार गरिएको छ। यस्तै, बाढीमा परी घाइते भएका ७४ जनाको उद्धार गरी अस्पताल भर्ना गरिएको थियो। तीमध्ये ४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकीलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ। बाढीमा परी अस्पताल पुर्याइएकामध्ये एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
घरबारविहीन भएका तथा जोखिममा परेका नागरिकलाई विभिन्न नौ वटा आश्रयस्थलमा राखिएको छ। रसुवाका विभिन्न विद्यालय तथा गुम्बा र काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ सेवा गुम्बा, येल्लो गुम्बा र नेपाल बुद्ध धर्म सेवा सङ्घको भवनमा गरी कुल ८१७ जनाले आश्रय लिइरहेका सहायक प्रजिअ अधिकारीले जानकारी दिए।
बाढीका कारण रसुवाका गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिकाका विभिन्न वडा पूर्ण रूपमा प्रभावित भएका छन्। गोसाइँकुण्डका वडा नं १, ३, ४, ६, आमाछोदिङ्मोका सबै वडाहरू र उत्तरगयाका वडा नं १, २, ३ को सडक सञ्जाल पूर्ण रूपमा टुटेकाले राहत तथा पुनःस्थापना कार्यमा चुनौती थपिएको छ।
राहत वितरणसम्बन्धी थप विवरण जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा अद्यावधिक भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment