चेतन अयडी हत्या प्रकरण : बाजुरा जिल्ला अदालतद्वारा ६ जनालाई जन्मकैद
बाजुरा। अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडी हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनसम्म चलेको निरन्तर बहसपछि थुनामा रहेका ७ प्रतिवादीमध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो।
अदालतको फैसलाअनुसार धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई जन्मकैदको सजाय भएको छ।
यस मुद्दामा प्रतिवादी बनाइएका २५ जनामध्ये १९ जनाले भने सफाइ पाएका छन्। चार वर्षदेखि पुर्पक्षका क्रममा थुनामा रहेका पदम अयडी निर्दोष ठहरिँदै सफाइ पाएर थुनामुक्त हुने भएका छन्।
त्यस्तै धरौटीमा रिहा भएका मंगल भन्ने मदनबहादुर अयडी, निरजबहादुर अयडी, नरबहादुर अयडी, उद्धवबहादुर अयडी, रतनबहादुर अयडी, अनिता रौले अयडी, मोहनबहादुर अयडी, नवीनबहादुर अयडी, ईश्वरीदेवी अयडी, धनादेवी अयडी र नरेशबहादुर अयडीले सफाइ पाएका छन्। साधारण तारिखमा रहेका भूपाल अयडी, चक्र अयडी, रुपा चौधरी अयडी, जुद्ध अयडी, रनसिंहबहादुर अयडी र विनोद अयडीले पनि सफाइ पाएका हुन्।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौंस्थित घरमै घेरा हालेर चेतन अयडीमाथि साघातिक आक्रमण भएको थियो। प्रतिवादीहरूको कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।
मृतकका बुबा तथा जाहेरवाला गगन अयडीका तर्फबाट सरकारी वकिलसँगै वरिष्ठ अधिवक्ताहरू राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट अधिवक्ता जगत बमलगायतले बहस गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment