कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
२ असोज २०८३ ७:००

काठमाडौं।  हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

शुक्रबार बिहान कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा संखुवासभाको टासीगाउँमा २७.९ मिलिमिटर, ताप्लेजुङको तापेथोकमा १०.४ र लुङथुङमा ७.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

यसैगरी, गएको २४ घण्टामा झापाको चन्द्रागिरि एयरपोर्टमा ११२.२, अनारमनी बिर्तामा ८९.६, उदयपुरको गाईघाटमा ८६.८ र संखुवासभाको टासीगाउँमा ८२.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

 दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका धेरै स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। साथै, कोशी र गण्डकीका पहाडी भू-भागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *