भोटेकोशी बाढी: बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
कास्की। भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका-५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ।
काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत उनी भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन्। त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उनको अवस्था अज्ञात छ।
छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा र नुवाकोट पुगे। बाढीले पुर्याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले आशा भने मारेको थिएन।
घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर तथा सूचना प्राप्त नभएपछि परिवार अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको हो। पोखराको तुलसीघाटमा सृष्टिको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए।
“बाढी आउनुअघि भदौ ९ गते साँझमात्र सृष्टि नुवाकोट पुगेकी रहिछन्। बिहान परिवारसँग कुराकानी भएको रहेछ। त्यसपछि कुनै जानकारी प्राप्त भएन”, गौतमले भने, “विनाशकारी बाढीपछि कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ। तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो।”
देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको यात्रा अधूरै रहेको छ। अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए।
“होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ”, बरालले भने। त्यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेको छ।
टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन छन्। लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। बाढीमा बेपत्ता आफन्तको खोजीका लागि परिवार सम्भावित स्थानमा पुगे पनि कुनै जानकारी नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालिएको हो।
बेपत्ता फर्कने आस मरेपछि काजकिरिया
यसैबीच भोटेकोशी बाढीमा परी गत भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका-११ का झपटबहादुर घर्ती र राधिका घर्तीको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।
बाढीपछि सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरेको भतिज विशाल घर्तीले बताए। “खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ। अब उपाय बाँकी रहेन। त्यसैले काजकिरिया सुरु गरेका हौँ”, उनले भने।
बेँसीसहर-११ का ४५ वर्षीय झपटबहादुर र उनकी श्रीमती ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। गत भदौ १० गतेको बाढीपछि दुवै जना सम्पर्कविहीन भएका थिए। त्यसयता परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उनीहरूको शव फेला पर्न सकेको छैन।
यस्तै, सोही बाढीमा बेपत्ता मर्स्याङ्दी गाउँपालिका-३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन। उनको पनि परम्पराअनुसार काजकिरिया सम्पन्न भइसकेको छ। भण्डारी सबइन्जिनियरका रूपमा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिइन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डिएनए परीक्षण गर्न पठाइएको उनले जानकारी दिए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment