तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प छ, चाँडै सुचारु होस् : माधव सापकोटा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले चीनसँग जोडिएका दुई प्रमुख नाका तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प भएको भन्दै चाडपर्वको मुखमा बजारमा महँगी बढ्ने खतरा औंल्याएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए। उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु गराउनेतर्फ जानुपर्नेमा जोड दिए।
‘तातोपानी र केरुङ दुईवटा नाकाहरू उत्तरसँग जोडिएका छन्। यो नाकाहरुबाट हामी फलफूल, लत्ताकपडा लगायतका धेरै सामग्री आयात गर्छौं। तर अहिले यी दुवै नाका बाटोका कारण पूर्ण रूपमा बन्द छन्,’ सापकोटाले भने, ‘यदि यसलाई तत्काल सुचारु गर्न सकिएन भने चाडपर्वको बेला बजारमा अत्यधिक महँगी हुनेछ र यसको सिधा असर नागरिकमा पर्नेछ।’
सांसद सापकोटाले सरकारले संसदले दिएका निर्देशनहरू पालना गर्नेतर्फ भन्दा पनि मिडिया र सामाजिक सञ्जालका लागि ‘कन्टेन्ट उत्पादन’ मा केन्द्रित भएको आरोप समेत लगाए।
‘सरकार संसदको निर्देशन पालना गर्नेतर्फ भन्दा पनि मिथ्या कथाहरू सिर्जना गरेर मिडिया र सोसल मिडियाका लागि कन्टेन्ट बनाउनेतर्फ ध्यान दिइरहेको छ,’ उनले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment