सामाजिक प्रतिबिम्बको उपन्यास देवयानी
साहित्यको माहौल अहिले आख्यानमय छ। नेपाली भूमिबाट बाहिरी साहित्यको संसारलाई चियाउने हो भने त्यता पनि धेरै लेखिने र पढिने विधा नै आख्यान हो। आख्यानमा पनि कथाभन्दा उपन्यासमा लेखक र पाठक बढी सम्मोहित भएको पाइन्छ।
नेपालको वर्तमान परिप्रेक्ष्यलाई हेर्ने हो भने पनि अन्य साहित्यिक विधामा स्थापित भइसकेका लेखक साहित्यकारहरू पनि आफूलाई आख्यानको साँचोमा ढालिरहेका छन्।
आफूलाई पुनः अर्को विधामा परीक्षण गरिरहेका छन्। यस्तोमा कतिले सफलताको स्वाद राम्रै पाइरहेका छन्। कतिपय विस्मित पनि छन्। पाठकहरूले कतिपय लेखकले गरेको विधा भञ्जनलाई सहर्ष स्वीकार गरेको देखिन्छ भने कतिलाई सिधै अस्वीकार।
नेपाली कविताको क्षेत्रमा वर्षौँ बिताइसकेपछि कवि बसन्त चौधरी उपन्यासकारको नयाँ परिचयसहित नेपाली साहित्यमा देखा परेका छन्। यद्यपि नेपाली साहित्यमा बसन्त चौधरी चिनाइरहनुपर्ने नाम भने होइन।
उनका दर्जनौँ कविता कृतिहरू बजारमा पाइन्छन्। आख्यानको मोहले उनी पनि तानिँदै तानिँदै आइरहेका छन्। यसैको प्रतिफल हो उनको नवीनतम उपन्यास कृति “देवयानी”।
देवायानी उपन्यासमा त्रिकोणात्मक प्रेम सम्बन्धलाई मूल कथावस्तुको रूपमा उभ्याइएको छ। प्रेम के हो ? आकर्षण के हो ? विवाह के हो ? र किन गरिन्छ जस्ता गम्भीर विषयको अन्तर्य उपन्यासमा केलाइएको छ। विवाहेत्तर सम्बन्ध र त्यसले पारिवारिक स्वास्थ्यमा पार्ने गम्भीर असर उपन्यासको केन्द्रीय कथानक बनेको छ।
देवयानी उपन्यासको केन्द्रीय पुरुष पात्र आदित्य हुन् भने केन्द्रीय नारी पात्र देवयानी हुन्। यही दुई पात्रलाई सम्बल बनाएर कथाकारले उपन्यासको परिवेश सृजित गरेका छन्। आफूसँग प्रशस्त सम्भावना हुँदाहुँदै पनि एउटी अविवाहित युवती विवाहित पुरुषको प्रेममा परेकी छिन्।
उनले जोसँग प्रेम गरेकी छिन् ऊ विवाहित व्यवसायी हो। आरम्भमै पाठकको मनमा आउँछ, त्यसोभए उनले केका लागि प्रेम गरेकी हुन् त ? प्रेमका लागि ? पैसाका लागि ? करियरका लागि ? सुरक्षाका लागि वा अन्य विषय पनि छ ? त्यस्तो विषय के छ जसले एउटी अविवाहित युवतीलाई विवाहित पुरुषसँग प्रेम जगाइदियो।
उपन्यासकारले देवयानी पात्रलाई प्रेमको स्वछन्दता र स्वतन्त्रताको पखेटा प्रदान गर्दै कथानकलाई काठमाडौँदेखि दिल्ली हुँदै पेरिससम्म पनि पु¥याएका छन्। काठमाडौँमा बसेर उपन्यास पढिरहेको पाठक घरी दिल्ली पुग्छ घरी पेरिस। कहिले उपन्यासमा उसले आफूलाई पाउँछ कहिले आफ्ना परिचित सम्बन्धीहरूलाई। उसले प्रेमको सीमितता पनि महसुस गर्छ र स्वच्छन्दता पनि।
कुनै बेलाको प्रेम स्वर्गीय हुन्छ कुनै बेला अफ्ठेरो ठाउँमा आएको पिलो। विवाहित पुरुषसँगको आफ्नो प्रेमलाई देवयानीले पटकपटक यस्तै महसुस गरेकी छे। यस्तो विचार उपन्यासको केन्द्रीय पात्र आदित्यको मनमा पनि बेलाबखत आउँछ।
घरकी श्रीमतीसँग परस्त्रीसँगको सम्बन्ध लुकाउँदा लुकाउँदै पनि खुलस्त हुन पुगेपछि ऊ मानसिक असमञ्जसको सिकार हुन पुग्छ। आदित्य देवयानीलाई छाड्न सक्तैन, घरमा भित्र्याउँदा घरकी श्रीमती के गर्ने ? उपन्यासकार चौधरीले देवयानीसँगको आदित्यको प्रेमको अवस्था र मनोदशाको विशृङ्खलित अवस्थाको चित्रण गरेर वर्तमान समयको नेपाली समाजको प्रेमिल ऐना प्रस्तुत गरेका छन्।
यो समयको स्वच्छन्द समयको प्रेमको यस्तो प्रतिबिम्ब हो जसले नेपाली समाजको वास्तविकतालाई नाङ्गेझार बनाएको छ। प्रेम उदात्त हुनुपर्ने हो कि उदात्त भावनाले गरिनुपर्ने हो भन्ने विषय पनि वर्तमानमा सोचनीय विषय हो। प्रेमको अन्तिम गन्तव्य विवाह हो ?
प्रेम गरेपछि विवाह गर्नु नै पर्छ ? कि विवाह नगरीकन पनि प्रेमको आत्मिक अनुभूति हुन सक्छ ? होइन भने मान्छेले विवाहका लागि मात्रै प्रेम गर्दछ। देवयानी पढ्दै जाँदा यस्ता अनेकन प्रश्नहरू पाठकका मनमा प्रकट हुन सक्छन्। यस्ता कतिपय उत्तर उपन्यासले देला, कतिपय आफैँले पढेर मनन गर्दुपर्छ।
उपन्यासकारले उपन्यासका पात्रहरूलाई नगर अझ भनौँ महानगरतिर नै बढी प्रस्तुत गरेका छन्। त्यसैकारण यस उपन्यासका पात्रहरू सहरिया जीवनशैली बाँच्छन्। सोच्छन् र व्यवहार पनि सोहीअनुरूप गर्दछन्।
नेपाली समाज प्रेमको विषयमा निकै तरल छ। बुझाइ एकदम कमजोर र सपाट। प्रेम र आकर्षण बिचका भिन्नता पहिल्याउन नसक्दा प्रेम कि भल्गर हुन्छ कि दुर्घटित। यिनीहरूलाई दुई अलग अलग तर मसिना तन्तुहरूले एक आपसबाट छुट्याएको हुन्छ।
यसको भिन्नतालाई बोध गरेर आत्मिक हिसाबले महसुस गर्न सकेमा प्रेमको विराट स्वरुप प्रदर्शित हुन सक्छ भन्ने तथ्यलाई उपन्यासको केन्द्रीय पुरुष पात्र आदित्यले बुझ्न सकिरहेको छैन। ऊ आकर्षणका कमजोर कडीहरूलाई प्रेमको प्रतिति ठानेर मिथ्याचरणमा नै रुमल्लिइरहेको छ।
स्वयंलाई ऊ त्यही मिथ्या भावले वशीभूत तुल्याइरहेको छ। ऊ आरम्भमा घरकी श्रीमती माधवीलाई र पछि कतिपय सन्दर्भमा देवयानीलाई पनि भ्रममा राखेको अर्को भ्रममा बाँचिरहेछ। स्वयंमा भ्रमित आदित्य उपन्यासमा एक भ्रमित प्रेमी, भ्रमित पुरुष र भ्रमित पतिका रूपमा चित्रित रहेको छ।
देवयानी उपन्यास पढ्दै जाँदा पाठकलाई आफूले असीको दशकको उत्तरार्धको कुनै हिन्दी फ्लिम हेरिरहेको अनुभूति हुन सक्छ। यो उपन्यासमा त्यस्तो फ्लिमी फ्लेवर छ जसले पाठकलाई कहिले रोमाञ्चित बनाइदिन्छ, कहिले विस्मित। उपन्यास पढ्दै जाँदा कहिले मुखबाट वाह!
निस्कन्छ त कहिले उच्छवास्। उपन्यासको बिचबिचमा प्रयोग गरिएका मुक्तक र टुक्रे कविताले उपन्यासको सौन्दर्य बढाइरहेका छन् भने यसैगरी बिचबिचमा प्रयोग गरिएका आगन्तुक शब्दले खाना खाँदा दाँतमा ढुङ्गा लागेको जस्तो अनुभूति पनि हुन्छ।
व्यवसाय गर्नु मानवको कर्तव्य हो। रूचिको विषय हो। धर्म हो। याृे हरेक किसिमले स्वभाविक पनि हो। यो व्याख्येय किसिमको हरेक विषय हुँदै हो। त्यसो त प्रेम गर्नु पनि मानवीय विषय हो। यो पनि अति स्वभाविक विषय भइहाल्यो।
तर एउटा व्यवसायीका लागि व्यवसायलाई गरिने प्रेम र व्यवसायभित्र गरिने प्रेम के हो ? तिनीहरूको अन्तर कस्तो हुन्छ ? त्यसले एउटा व्यवसायीको जीवनमा के कस्तो उतारचढाव ल्याउँछ भन्ने केन्द्रीय विषयका पेरिफेरिमा उपन्यासकार चौधरीले आफ्नो उपन्यासलाई प्रस्तुत गरेका छन्। सम्बन्धहरूका अनेकन् आयामहरू र तिनीहरूका एकअर्काका अन्तर्सम्बन्धलाई केलाउँदै उपन्यासकारले विशृङ्खलित प्रेमकथा प्रस्तुत गरेका छन्।
समग्रमा देवयानी उपन्यासले आजको हामी बाँचिरहेकै समाजको कथालाई प्रस्तुत गरेका छन्। उपन्यासमा पाठकले कतै न कतै आफ्नै समाजको कुनै न कुनै सामाजिक यथार्थलाई अवश्य महसुस गर्नेछन्।
एक कविका रूपमा परिचित बसन्त चौधरी आफ्नो पहिलो आख्यानमा पनि सफल देखिएका छन्। त्योभन्दा बढी अझ एक उच्च व्यवसायी घरानाका बसन्तकै जीवनाभूतिको सकल स्वरूप पाठकले जरुर अनुभूत गर्ने छन्।
















Facebook Comment