‘युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्’
कर्णाली। नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताएका छन्।
अखिल (समाजवादी) र युवा संगठन कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उनले युवा जनशक्तिमा भरिएको निराशाले विदेसिने क्रम बढ्दै गएको बताए। महासचिव चन्दले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गरे।
‘जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौँ नेपाली जनता ऋण बोकेर सडकमा छन्’, उनले भने, ‘जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय समाजवादको बहस पनि अरुचिको विषय बन्दै गएको छ । यो चिन्ताको विषय हो।’
आफ्नो पार्टीले तीन वर्षयता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताउँदै महासचिव चन्दले अब उद्योगको थालनी गर्ने योजना सुनाए।
महासचिव चन्दले आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनविरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल हुँदा आजका युवा पीडा, कुण्ठा पोख्ने, गुनासो गर्ने र पैसाका लागि पलायन हुने सोचबाट ग्रसित हुँदै गएको टिप्पणी गरे। आशाको सन्देश प्रवाह गर्न आफ्नो पार्टीले आगामी ०८४ सालको चुनावमा भाग लिने उनको भनाइ थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment