कांग्रेस १५ औं महाधिवेशन: केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक (सूचीसहित)
काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालाहरूका लागि निर्वाचनसम्बन्धी कार्यक्रम र प्रक्रियाबारे जानकारी गराएको हो।
सार्वजनिक कार्यतालिका अनुसार असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन बेलुका ५ देखि ६:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध, ६:३० देखि ७:३० बजेसम्म दाबी विरोधको छानबिन र बेलुका ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारी दर्ताको कार्यक्रम असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो ४:३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४:३० देखि ५:३० बजेसम्म उम्मेदवारीमाथि दाबी विरोध, ५:३० देखि ६:३० बजेसम्म छानबिन गरी बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने वा संशोधन गर्ने समय दिइनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिनभर प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ।
मतदान कार्यक्रम असोज २२ गते बिहान ७:३० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। मतदानका लागि तीनवटा स्थान निर्धारण गरिएको छ। वागमती प्रदेशका मतदाताका लागि राष्ट्रिय सभा गृह (प्रदर्शनी मार्ग) मा मतदान केन्द्र ‘क’ राखिएको छ। कोशी, मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका लागि खुलामञ्चमा मतदान केन्द्र ‘ख’ तोकिएको छ।
त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका लागि कमलादीस्थित प्रज्ञा भवनमा मतदान केन्द्र ‘ग’ रहनेछ। मतदान समाप्त भएलगत्तै मतगणना सुरु गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा गरिने समितिले जनाएको छ।
निर्वाचन समितिले उम्मेदवारी मनोनयन दस्तुर पनि तोकेको छ। सभापति पदका लागि ४० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
मनोनयन दर्ताका लागि केन्द्रीय निर्वाचन समितिको प्रभु बैंकमा रहेको खातामा रकम जम्मा गरेको भौचर वा क्यूआर कोडमार्फत भुक्तानी गरेको प्रमाण, निरन्तर क्रियाशील सदस्य रहेको सिफारिश, फोटोसहितको परिचयपत्र र महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाण पत्र संलग्न हुनुपर्नेछ।
उम्मेदवारीका लागि सभापति पदमा १० जना समर्थक र १० जना प्रस्तावक अनिवार्य गरिएको छ। उपसभापति र महामन्त्रीका लागि ७-७ जना, सहमहामन्त्रीका लागि ५-५ जना र केन्द्रीय सदस्यका लागि ३-३ जना प्रस्तावक तथा समर्थक हुनुपर्नेछ। एउटा पदको उम्मेदवार अर्को सोही पदको प्रस्तावक वा समर्थक बन्न पाउने छैनन्।
निर्वाचन आचारसंहिता अनुसार प्रचारप्रसारका क्रममा उम्मेदवार वा समर्थकले फोटो, नाम वा चुनाव चिह्न अङ्कित टोपी, भेस्ट, टी-सर्ट, ज्याकेट, गम्छा, ब्याज, मास्क वा लकेट जस्ता प्रचार सामग्री प्रयोग गर्न पाउने छैनन्। मतदान स्थल आसपासमा फ्लेक्स प्रिन्ट राख्न निषेध गरिएको छ भने उम्मेदवारले आफ्नो सामान्य परिचय वा जानकारी दिने पर्चा-पम्प्लेट भने वितरण गर्न सक्नेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment