कांग्रेस महाधिवेशन दोस्रो दिन: आज बन्दसत्र, दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि नयाँ नेतृत्व चयन र नीतिगत छलफलको औपचारिक प्रक्रिया सुरु भएको छ।
आइतबार ऐतिहासिक खुलामञ्चमा भव्य उद्घाटन सत्र सम्पन्न भएसँगै आज भृकुटीमण्डप परिसरमा महाधिवेशनका सांगठनिक तथा निर्वाचनसम्बन्धी गतिविधिहरू अघि बढेका हुन्।
महाधिवेशन आयोजक समितिले भृकुटीमण्डपस्थित ठूलो हलमा बिहान ७ः३० देखि ९ बजेसम्म देशभरबाट आएका ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरेको थियो। खाजापश्चात बिहान सवा ९ बजेदेखि तय गरिएका तीनवटा छुट्टाछुट्टै हलहरूमा बन्दसत्रको औपचारिक कारबाही प्रारम्भ भएको छ।
सुरु भएको बन्दसत्रमा पार्टी सभापति गगन थापाका तर्फबाट सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। प्रतिवेदन प्रस्तुत भएलगत्तै पार्टीको आगामी नीति र संरचनागत सुधारलाई लिएर विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी प्रतिनिधिहरूबिच विस्तृत छलफल अघि बढाइने जनाइएको छ।
बन्दसत्रका दौरान प्रतिनिधिहरूलाई सहज होस् भन्ने उद्देश्यले दिउँसो साढे ११ बजे खानाका लागि समय निर्धारण गरिएको छ।
नीतिगत छलफलसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसअनुसार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म भृकुटीमण्डप नजिकै रहेको राष्ट्रिय सभागृहमा विभिन्न पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारी दरखास्त दर्ता गराउन सक्नेछन्।
पार्टीभित्र सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि विभिन्न गुट र युवा पुस्ताका नेताहरूबिच उम्मेदवारी घोषणा गर्ने होडबाजी चलेको छ। उम्मेदवारी मनोनयन दर्ता सकिएपछि निर्वाचन समितिले दाबी-विरोध र अन्तिम नामावली प्रकाशन गरी मतदानको प्रक्रियातर्फ महाधिवेशनलाई अघि बढाउनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment