सरकारले लोकतन्त्र विरोधी कानुन मात्र ल्याउन खोजेको माओवादी आरोप

डिसी नेपाल
१ भदौ २०८२ ११:४८
16
Shares

जनकपुर। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन अहिलेको सरकार उद्धत रहेको टिप्पणी गरेकी छन्।

जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आफ्ना प्रतिद्वन्द्वीहरुमाथि प्रतिशोध साँध्ने, जनविरोधी भूमि सम्बन्धी कानुन ल्याउनेलगायतका गतिविधिले गर्दा संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउनतर्फ सरकार उद्धत रहेको बताइन्।

पूर्वमन्त्रीसमेत रहेकी उपाध्यक्ष भुसालले संघीय कार्यान्वयका लागि निकै महत्वपूर्ण मानिएको निजामति ऐन कानुनमा कुलिंग पिरियडको बेलामा कानुनमाथि छेडखानी गर्ने, संघीयता कार्यान्वयनका अर्का एक महत्वपूर्ण शिक्षा विधेयक अड्काएर राख्नु नै संविधानको मूल मर्म विपरित कानुन ल्याउन सरकार अग्रसर रहेको टिप्पणी गरिन्।

उनले नेकपा एकीकृत समाजवादी, विप्लव नेकपा, महेन्द्र राय यादवको जनता समाजवादी पार्टीलगायतका दलहरुसंग सकारात्मक रुपमा वार्ता अघि बढिरहेको बताइन्। उनले एकीकरणका लागि विचार र कार्यदिशा मिल्ने पार्टीहरुसँग एकताको हात अघि बढाइएको बताइन्।

आइतबार धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वरमा शहीद चन्देश्वर मण्डलको २० औँ स्मृति सभामा सम्बोधन गर्नेछिन् भने सोमबार गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा हुन लागेको शहीद रामवृक्ष यादवको ३१ औँ स्मृति सभामा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.