भाषागत समावेशिताले संघीयताको मर्मलाई सम्बोधन गरेको छ : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरुङले भाषागत समावेशिताले संघीघीयताको मर्मलाई सम्बोधन गरेको बताएका छन्।
तामाङ पत्रकार संघले आज यहाँ आयोजना गरेको तामाङ मिडिया अवार्ड कार्यक्रममा उनले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङका अनुसार राष्ट्रिय समाचार समिति(रासस), सार्वजनिक प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, गोरखापत्रले मातृभाषाका समाचार सम्प्रेषण गरेर समावेशिताको मर्मअनुसार संघीघीयतालाई सुदृढ बनाउने प्रयास भएको छ।
गोरखापत्रमा ४५, रेडियो नेपालमा २५ र राससले तीन वटा माभृभाषामा समाचार सम्प्रेषण गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले सञ्चार माध्यममा भाषागत समावेशिता प्रवद्र्धनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले चालु आर्थिक वर्षमा राससले तामाङ भाषामा पनि समाचार सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए।
राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाको समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयक टुङ्गिने अवस्थामा रहेको तथा सरकारले हालै एआई नीति अनुमोदन गरेको जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधिमन्त्रीले ‘डिजीटल फ्रेमवर्क नेपाल’को परिकल्पनालाई साकार पार्न एआई नीति उपयोगी हुने विश्वास व्यक्त गरे।
एआई नीति कार्यान्वयन गर्न भौतिक संरचना निर्माण, ‘फोर जी नेटवर्क’लाई सबल बनाउने, ‘फाइभ जी नेटवर्क’ सुरु गर्ने, ‘डेटा सेन्टर’ खोल्ने गृहकार्यमा सरकार जुटेको उनले बताए।
त्यस अवसरमा मन्त्री गुरूङले पत्रकारद्वय टीकाराम तामाङ र मालती मोक्तानलाई पुरस्कार प्रदान गरे।
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्व्यन गराउन प्रतिबद्धता रहेको बताए।
तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले आफ्नो समुदायका पत्रकारको वत्तिविकासमा सघाउन पुरस्कारको व्यवस्था गरिएको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment