नेपाल लाइफद्वारा सगरमाथामा ५ हजार किलो फोहोर संकलन

डिसी नेपाल
८ भदौ २०८२ १४:१४
20
Shares

काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा “प्रोजेक्ट केयर” अभियान अन्तर्गत सगरमाथा क्षेत्रमा थुप्रिएको ५,००० किलोग्राम फोहोर संकलन गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित कार्यक्रममा राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले संकलन प्रतिवेदन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका पदाधिकारी, सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) का प्रतिनिधि तथा फोहोर व्यवस्थापन र रिसाइकलिङमा संलग्न संस्था खालिसीसीका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै धरोहर भएकाले यसको संरक्षण अपरिहार्य रहेको बताए। उनले पहिलो चरणमा ५,००० किलो फोहोर संकलन गर्न सफल भएकोमा सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सगरमाथाको सौन्दर्य र धरोहर जोगाउन नेपाल लाइफ निरन्तर तयार रहने प्रतिबद्धता जाहेर गरे।

राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले यस पटक ५ हजार किलो फोहोर व्यवस्थापन भए पनि आगामी दिनमा २५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य बनाइएको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य र वातावरणीय क्षेत्रमा निरन्तर काम गर्दै आएको संस्थाले यो अभियानलाई दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाउने बताए।

अग्रवालका अनुसार सगरमाथामा आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र भए पनि हालसम्मका सरकारी र अन्तर्राष्ट्रिय प्रयास प्रभावकारी हुन नसकेका कारण यो अभियानले उल्लेखनीय परिवर्तन ल्याउने विश्वास गरिएको छ। संकलित फोहोरमध्ये कुहिने पदार्थ आधार शिविरभन्दा तल पुर्याइएको छ भने नकुहिने फोहोरलाई ३० किलोका झोलामा प्याक गरी काठमाडौं ल्याइएको छ। काठमाडौं ल्याइएको फोहोरलाई खालिसीसीको सहकार्यमा रिसाइकलिङ गर्ने योजना रहेको पनि जानकारी दिइयो।

सगरमाथामा फ्यालिएका टेन्ट, अक्सिजन सिलिन्डर, खाद्य प्याकेजिङ, पर्वतारोहण उपकरण र मानव फोहोरहरूका कारण हिमाल “विश्वकै सबैभन्दा अग्लो फोहोर थलो” बन्न नपरोस् भन्ने उद्देश्यले नेपाल लाइफले राउन्ड टेबल नेपालसँगको सहकार्यमा अभियानलाई सहयोग गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *