परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

डिसी नेपाल
१४ भदौ २०८२ २१:४४
60
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नो निवासमा आज गौरा भित्र्याएकी छन्। उनले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित आज गौरा भित्र्याएकी हुन्।

यसअघिका वर्षहरूमा गौरा पूजनका लागि उनी धनगढी जाने गरेकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण भइरहेकाले काठमाडौंमा गौरा भित्र्याएकी हुन्।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ। विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ।

मन्त्री डा राणाले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ट सांस्कृतिक गौरव भएको जनाउँदै आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत बसी गौरा पूजा गर्ने गरेको बताइन्। गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने उनले विश्वास व्यक्त गरिन्।

भाद्र शुक्ल पञ्चमीको विरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरू निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन्। गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ। गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *