सिद्धार्थ रंगशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः उपप्रधानमन्त्री पौडेल

डिसी नेपाल
१४ भदौ २०८२ २१:५७
120
Shares

भैरहवा (रुपन्देही)। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालाको अवलोकन गरेका छन्। रंगशाला अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएकाले रंगशालालाई बजेटको अभाव हुन नदिने बताए।

उपप्रधानमन्त्री पौडेलले सिद्धार्थ रंगशालाका लागि यस वर्ष रु तीन करोड बजेट छुट्याएको र आगामी दिनमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘तपाईंहरू उत्साहका साथ खेलकुदको विकासमा लाग्नुहोस्। यो रंगशाला लुम्बिनी प्रदेशमै महत्वपूर्ण खेल पूर्वाधार हो। यहाँ रहेका अधुरा कामहरू सम्पन्न गर्न लाग्नुस्। आर्थिक रूपमा कुनै समस्या हुँदैन।’

रंगशालाबारे जानकारी दिँदै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले यसलाई बहुवर्षीय योजनामा राखिदिन आग्रह गरे। उनले सिद्धार्थ रंगशाला काठमाडौंपछि स्तरीय रहे पनि त्यसको अनुपातमा बजेटको अभाव झेलिरहेको बताए।

डेढ दशकमा रंगशाला निर्माणको काम करिब १६ प्रतिशत मात्रै छ। यहाँ हालसम्म करिब रु १२ करोड खर्च भइसकेको छ। न्यून बजेटका कारण यसको निर्माण समयमै हुन नसकेको अध्यक्ष थापाले गुनासो गरे।

क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले विसं २०६८ मा भैरहवा र मूलपानीमा अन्तरराष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएकामा मूलपानी मैदानले गति लिँदा यहाँ भने कछुवा गतिमा काम भइरहेको बताए।

सात हजार दर्शक अट्नेगरी प्यारापिटसहित अन्तरराष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले यो योजना अगाडि बढाएको थियो। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) त्यसबेला कम्तीमा रु ३८ करोड लाग्ने जनाइएको थियो। तर, समयमै काम नहुँदा अब कम्तीमा रु ७० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.