सभापति देउवा निवासमा मनाइयो गौरा पर्व

डिसी नेपाल
१५ भदौ २०८२ २०:२४
64
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुदूरपश्चिमको प्रमुख गौरा पर्व मनाइएको छ ।

पर्वका अवसरमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौंमा रहेका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गरेका थिए। साथै उनीहरूले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गरेका थिए।

सो अवसरमा सभापति देउवासँग भेट गरी सङ्घीय मन्त्री, मुख्यमन्त्री, सांसदलगायत सुदूरपश्चिम घर भइ काठमाडौंमा रहेका विभिन्न पेशा र क्षेत्रका व्यक्तित्वले शुभकामना आदानप्रदान गरेका थिए। परराष्ट्रमन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित शनिबार निवासमा गौरा भित्र्याएकी थिइन्।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ। विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने चलन छ।

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिला निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्छन्। गौरा पर्व महिलाले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ। गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ।

पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ। यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा रही आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *