लघुकथा : स्वभाव

भूमिका गैरे तिमिल्सिना
२१ भदौ २०८२ ७:०९
44
Shares

“आवश्यकता भन्दा सरल हुनु पनि कमजोरी मान्दा रहेछन्, मान्छेहरू।” उमेशले दिक्दारी व्यक्त गर्‍याे।

” समयानुसार चल्नु पर्छ, मान्छे अनुसारको व्यवहार गर्न जानिएन भने दु:ख पाइन्छ। जति भने पनि उस्तै, कुरो बुझ्ने कहिले हो तैले ?” बालापनको साथी केशवले सम्झायो।

केशव, ” बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल कुहिन्छ, भन्थे बुढापाकाले, हो रहेछ। त्यहीँ श्यामलाई हेर्न, सबैलाई डाकाको भरमा काबुमा राखेको छ। जति कुरा काटे नि अगाडि कोही बोल्ने आँट गर्दैनन्। न पढालेखा छ।” उसले फेरि थप्यो

उमेश, “अस्ति एउटा कार्यक्रममा गएको थिए, श्याम पनि थियो। उसको त कार्यक्रममा बडा वाहवाही चल्यो, के चाहिँ गरेछ भनेर बुझ्दा त गफैको भरमा अर्काको कामको श्रेय लिएको रहेछ।” उसले अचम्मित मुद्रामा भन्यो

केशवले व्यङ्ग्य कस्दै, ” त्यो पनि एउटा कला हो, बुझिस्। अगाडि आउनका लागि गुदो नभए नि चुरिफुरी देखाउँन जानिएन भने यो परिवेशा टिक्न गाह्रो हुन्छ।” हा हा

दुबैजना कुरा गरिरहेको ठाउँमा श्याम हाँस्दै टुपुल्कियो, ” “हालखबर सोध्यो र उमेशलाई अलि टाठो हुने सल्लाह दिँदै बाहिरियो।”

“अकबरी सुनलाई कसी लानु पर्दैन, आफू जस्तो छ, त्यहीं ठिक छ ।” उमेश आत्मबलका साथ बोल्यो।

केशव, ” कागले कान लग्यो भन्दैमा कागका पछाडि दौडिनु त भएन नि, नुनमा कहिल्यै किरा लागेको छ र ?” उसले ढाडस दियो।

लघुकथा : तीज

“ए सपना, दर खान जाने होइन ।” बाटाबाट चर्को आवाज सुनियो

” जाँदै गर्नोस्, म निस्कन्छु।” सपनाले उत्तर फर्काई

सासू भने केही नबोली पिँढीमा बसेकी थिइन्। त्यतिकैमा पल्लाघरे माहिली आमा आइपुगिन्। “के गरेकी छौ ? तिम्री बुहारी दर खान जान्निन रे, हाम्री त अगेर गइसकी।” माहिली आमाले साउती मारिन्।

“के कुरा गर्छौ तिमी पनि, यो नेता मान्छे नगएर छोड्ली? को-को जानी, के खानी भनेर बिहानै देखि फोनमा बिजी छे।” पहिलोले उत्तर दिइन्।

सपना चिटिक्क परेर, ” ल, म गए है आमा।”

” राम ! राम !! हाम्रा पालामा दर भनेको एक दिन खाने हो, त्यै पनि उकालो-ओरालो, खोलो तरेर बल्लतल्ल माइतमा गएर खाइन्थ्यो।” अहिलेकालाई हेर त, ” एक महिना पहिलेबाट दर रे, त्यो पनि पाटी प्यालेसा, हेर्दाहेर्दै के चलन आका हुन् यस्ता ।” पहिलोले मुख बङ्ग्याइन्

त्यहीँ त भन्या, ” भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउँने तीज पर्व हो। पार्वतीले आफूले मन पराएको वर शिवलाई पाउन जंगलमा गएर पानी पनि नखाई घोर तपस्या गरेकी थिइन्। भगवान शिव प्रकट भई ‘चिताएको मनोकांक्षा पूर्ण होस्’ भनी वरदान दिएका थिए।” माहिली आमाले तीजको पौराणिक कथा जोडेर भनिन्।

हो तनि, हर्षोल्लासका साथ नाचगान गरी मनाउने चाड हो तर अहिले फेसन भएको छ । कहीँ संघसंस्थाका नाममा, पार्टीका नाममा, समूहका नाममा मास देखाउनु छ मान्छेलाई । पहिलोले लामो सास तान्दै थपिन् ।

माहिली आमाले गम्भीर मुद्रामा भनिन्, ” पौराणिक मान्यता बोकेका परम्परा र संस्कृति पनि देखासिकी र फेसनले गर्दा विकृति भित्रिएको पत्तै छैन ।”

लघुकथा : कुशे औँसी

बुबाको मुख हेर्दा के दिने हो ? एकाबिहानै पल्लाघरबाट आवाज सुनियो।

सामाजिक सञ्जालभरि छ्यापछ्यापी कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको शुभकामनाको ओइरो थियो।

छोरी कति बेला आउँछे भनेर बुबाको आँखा बाटातिरै थियो।

दिव्या आई, “उसले बुबाआमालाई मिठाइँ, फलफूल, वस्त्र दिई र सञ्जालमा फोटा राखेर भव्य शुभकामना दिई।”

घरपरिवारमा खुसीको माहोल छाएको थियो। पल्लाघरे आम्मोई कराउँदै भित्र पसिन्। “छोरी आई, खानपान भो, के गरेका छौ तिमरू।”

सबैजना सँगै बसेर गफ गर्न थाले। आम्मोई अलि दार्शनिक थिइन्। उनले भन्न थालिन, ” भदौ महिनाको आमावस्याका दिन गोकर्णे औँसीको नामले चिनिने पर्व हो, जुन बुबाको मुख हेरी मनाउने गरिन्छ।

वर्ष भरि देवकार्य र पितृकार्यमा प्रयोग हुने कुशलाई घर- घरमा राख्नाले मात्र पनि परिवारको कल्याण एवम् घर पवित्र हुने धार्मिक मान्यता रहेको छ । बुबाआमा नहुनेले तीर्थ, श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र पुण्य प्राप्तिको मान्यता रहेको छ।” सबैले एकाग्र भएर सुनेका थिए।

फेरि थपिन्, ” मध्यकालीन साहित्य जगतका शृङ्गार रसका प्रयोगकर्ता युवा कवि मोतिराम भट्ट जन्मेको आजकै दिन भएकाले मोतिजयन्ती भनेर पनि चिनिन्छ ।”
आम्मोईले कान्छोलाई हेर्दै व्यङ्ग्य कसिन्, ” के दिइस् त कान्छा, बुबालाई ।”

नजिकै बसेर सबै सुनिरहेको कान्छाले गम्भीरतापूर्वक भन्यो, ” म बबुरोले बुबाआमालाई तीन पटक घुमे र तीर्थ सम्झिएर ढोगे ।”

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.