भतिजलाई चुम्बन गर्न निहुरिँदा ५० वर्षअघि साउदी राजा फैसलको हत्या भएको थियो
बीबीसी। सन् १९७५ को मार्च २५ मा साउदी अरबको राजधानी रियादमा राजा फैसलको हत्या भयो। नजिकैबाट उनका भतिजाले गोली हानेका थिए।
राजालाई गोली हानिएका बेला उनका तेलमन्त्री अहमद जाकी यमनी उनकै छेउमा उभिरहेका थिए।
सन् २०१७ मा उनकी छोरी डा. माई यमनीले बीबीसीसँग कुरा गरिन्। “म त्यो दिन कहिल्यै बिर्सिन्नँ। मैले आफ्ना पिताको त्यो पीडालाई महसुस गरेँ, म अझै त्यो पीडा सम्झन्छु। अनुमान गर्नुहोस् कि तपाईँलाई कस्तो महसुस हुन्छ होला जब तपाईँका मार्गदर्शक, मालिक, साथीलाई नजिकबाट गोली हानेर मारिन्छ।”
अभिवादनका क्रममा आफ्ना भतिजलाई चुम्बन गर्न झुकेका बेला राजा फैसलमाथि तीनवटा गोली प्रहार भएका थिए। पन्ध्र वर्षदेखि राजा फैसलका एक बफादार मन्त्री रहेका यमनीले राजालाई ब्रीफिङ गरिरहेका थिए, त्यति उनी उनको दाहिनेपट्टि थिए।
तेलको धनी साउदी अधिराज्यका तृतीय शासक तथा राष्ट्रपिताका तेस्रो छोरा रहेका राजा फैसललाई तत्काल अस्पताल पुर्याइयो। तर केही क्षणमै उनलाई मृत घोषणा गरियो। केही माइल टाढा १८ वर्षीय माई यमनीले आफ्ना पिताको प्रतीक्षा गरिरहेकी थिइन्।
“किताबैकिताब भएको मेरा पिताको अपार्टमेन्टमा म बसिरहेकी थिएँ। उहाँ मुहारमा एकदमै आश्चर्य र पीडासहित भित्र छिर्नुभयो। उहाँ सीधै खाना खाने कक्षमा जानुभयो र चिच्याउनुभयो। उहाँले एक शब्द भन्न सक्नुभयो- ‘विपद्’।”
सधैँ शान्त रहने र बिस्तारै बोल्ने छवि भएका उनी सामान्य देखिएका थिएनन्। त्यसपछि उनले घटनाबारे आफ्नी छोरीलाई सबै कुरा बताए। “त्यो दिन बिहान १० बजे तेलसम्बन्धी एउटा कुवेती प्रतिनिधिमण्डल राजदरबारमा राजा फैसलसँग भेट्न गइरहेको थियो र साउदी तेलमन्त्रीका नाताले मेरा पिता राजालाई ब्रीफ गर्न जानुभयो,” उनी भन्छिन्।
“दुर्भाग्यवश फैसल नै नाम गरेका राजाका भतिज पर्ने राजकुमार कुवेती प्रतिनिधिमण्डलमा देखिए। उनलाई अँगालो मार्न राजाले हात फिँजाउनुभयो।”
“राजाका भतिजले गोजीबाट सानो पेस्तोल झिके र राजालाई गोली हाने। राजाको टाउकोमा तीनवटा गोली लाग्यो। त्यस बेला मेरा पिता राजाको छेउमै उभिरहनुभएको थियो।”
त्यस बेलाका कतिपय समाचारहरूका अनुसार मन्त्री यमनी राजाका यति नजिक उभिरहेका थिए कि उनलाई पनि गोली लाग्न सक्थ्यो भनी आक्रमणकारीले प्रहरीलाई बयान दिएका थिए।
मन्त्री यमनी पनि राजा फैसलसँगै अस्पताल पुगे, जहाँ राजा मृत घोषित भए।”त्यसपछि सबैतिर मौनता छायो। रियादका सडकहरू खाली देखिए र पूरै मौनता थियो।”
पश्चिमी युरोपको जतिकै आकार भएको मरुभूमि अधिराज्यको शासन गर्न सन् १९६४ मा फैसल साउदी अरबका राजा भए। ब्रिटेनका “नयाँ अरब मित्र” का रूपमा उनको प्रशंसा भयो। “मध्यपूर्वका अति पिछडिएकामध्ये एउटा देशलाई आधुनिकतातर्फ डोर्याउने” उनको जिम्मा थियो।
त्यस बेला बीबीसीका डेभिड डिम्बल्बीले भनेका थिए- के उनले त्यो काम राजगद्दी नगुमाईकन गर्न सक्लान्?
राजा अब्दुलअजिज अल साउदका जेठा सन्तानमध्येका एक फैसलले अरब प्रायःद्वीपलाई एकढिक्का बनाउने आफ्नो पिताको अभियानमा सँगै लडे, जुन अभियानले ३० वर्षअघि साउदी अरबको नाममा एउटा अधिराज्यको स्थापना गराएको थियो।
त्यसपछि फैसलले पिताको निधन भएपछि राजा बनेका आफ्ना दाजुको शासनकालमा प्रधानमन्त्री पद सम्हाले।
फैसल आफैँ राजा बन्ने बेलासम्म उनको छवि एक चतुर राजनीतिज्ञ, धर्मनिष्ठ र मेहनती सुधारकका रूपमा बनिसकेको थियो।
उनलाई देशमा पत्ता लाग्ने नयाँ तेल खजानालाई आधुनिक राज्य निर्माण, शिक्षा, स्वास्थ्य र न्याय प्रणालीमा खर्च गर्ने शासकका रूपमा हेरिन्थ्यो। तर राजा फैसलका सुधारले इस्लामका अनुदारवादीहरू तत्त्वहरू सधैँ खुसी हुन सकेनन्, जोसँग राजपरिवारको सम्बन्ध थियो।
साठीको दशकको मध्यतिर राजा फैसलले देशमा पहिलो पटक टेलिभिजन स्टेशनको स्थापना गरे। तर टेलिभिजन भवनमाथि त्यो व्यक्तिको नेतृत्वमा हमला भयो, जसका भाइले पछि उनको हत्या गरे।
राजा फैसलले साउदी अरबमा महिला शिक्षाको पनि सुरुवात गरे। डा. यमनी भन्छिन्, “महारानी इफ्फात [फैसलकी द्वितीय श्रीमती]ले साउदी अधिराज्यमा महिला शिक्षाको सुरुवात गराइन्।”
“त्यो विद्यालयको पहिलो ब्याचका नौ छात्रामध्ये म पनि एक भएकोमा मलाई गर्व छ। महिलालाई शिक्षित बनाएपछि उनीहरू अझ राम्रा आमा बन्ने छन् भनेर राजा फैसलले धार्मिक अगुवाहरूलाई बुझाउन सफल भएका थिए।
त्यो विद्यालयलाई दार अल हनान अर्थात् कोमलताको विद्यालय भनिन्थ्यो।” उनका पिताले लेखेका केही लेखहरू पढेपछि राजा फैसलको नजरमा उनी परेका थिए।
“मेरा पिताले पहिलो कानुन अफिस खोल्नुभयो र त्यसपछि लोकतन्त्र तथा सुशासनको पक्षमा सशक्त लेखहरू लेख्न थाल्नुभयो। ती लेखहरूमा अबु माई नामबाट हस्ताक्षर हुन्थ्यो, जो माई नामकी एक महिलाका उनी पिता थिए किनकि म उहाँको पहिलो सन्तान थिएँ। त्यस बेला युवराज रहेका फैसलले सोधे – ‘यो को मान्छे हो?’ त्यति बेला उनलाई एक कानुनी सल्लाहकारको आवश्यकता थियो।”
पछि राजा फैसलले शेख यमनी नामले चिनिने अहमद जाकीलाई तेलमन्त्री बनाए। अनि उनीहरू मिलेर राजा तथा उनका सेवकले एउटा नीति तयार पारे जसले पहिलो पटक साउदी अरबलाई उसको विशाल तेल सम्पत्तिमाथि पूर्ण नियन्त्रण प्रदान गर्यो र त्यसलाई अरब जगत् तथा अन्तर्राष्ट्रिय मञ्चमा एउटा महत्त्वपूर्ण शक्तिको रूपमा उभ्याइदियो।
इजरेल र उसका अरब छिमेकी देशहरूबीचको युद्धपछि सन् १९७३ मा साउदीहरूले तेललाई पहिलो पटक राजनीतिक अस्त्रको रूपमा प्रयोग गर्ने अभियानको नेतृत्व गरे।
इजरेललाई समर्थन गर्ने देशहरूलाई तेल आपूर्ति कम गरियो जसका कारण तेलको भाउ व्यापक रूपमा बढ्यो। सन्देश पुर्याउने व्यक्ति शेख यमनी थिए।
“अधीनस्थ अरब भूभागहरूबाट इजरेली फौजहरूको हामी पूर्ण फिर्ती चाहन्छौँ। त्यसपछि मात्र तपाईँहरूले सेप्टेम्बर १९७३ सम्म जसरी तेल पाउनुभएको थियो, त्यसरी पाउन सक्नुहुन्छ।”
तेलको व्यापक मूल्य वृद्धिले विकासशील, तेल उत्पादक राष्ट्र तथा विकसित औद्योगिक राष्ट्रहरूबीच विश्व शक्तिमा सन्तुलन ल्याउने उनले बताएका थिए।
शक्ति सन्तुलनको परिवर्तनले सन् १९७४ मा मान्यता पाएको थियो, जब ‘टाइम म्यागजीन’ले राजा फैसललाई वर्षपुरुष घोषणा गरेको थियो। त्यसको एक वर्षअघि उनको हत्या भयो।
डा. यमनी भन्छिन्, “राजाको हत्याको अरू कारण हामीलाई थाहा भएन, हामीलाई यति मात्र थाहा भयो कि उनको हत्या गर्ने व्यक्ति मानसिक रूपमा विक्षिप्त थियो। त्यति बेला १८ वर्ष उमेरकी मैले मेरा पिताको पीडा महसुस गरेँ। म अझै सम्झन्छु।”
अर्को ३० वर्षसम्म अर्थात् सन् १९८६ सम्म शेख यमनी साउदी अरबका तेलमन्त्री रहे।
उनकी छोरी डा. यमनी अध्ययनका लागि संयुक्त राज्य अमेरिका गइन् र अक्सफर्डबाट विद्यावारिधि गर्ने प्रथम साउदी महिला बनिन्। उनले अरब पहिचानबारे थुप्रै पुस्तक पनि लेखेकी छन् र गोल्डम्यान स्याक्सजस्ता ब्याङ्क अनि शेलजस्ता तेल कम्पनीका परामर्शदाताकी रूपमा पनि काम गरेकी छन्।
















Facebook Comment