बायजू एडटेकका संस्थापक बायजू रवीन्द्रनलाई सिंगापुर अदालतद्वारा ६ महिनाको जेल सजाय
काठमाडौँ । पछिल्लो समय ठूलो आर्थिक र कानुनी संकटबाट गुज्रिरहेको भारतीय अनलाइन शिक्षा प्रदायक (एडटेक) कम्पनी ‘बायजू’का संस्थापक बायजू रवीन्द्रनलाई सिंगापुरको एउटा अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ।
अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै सिंगापुरको अदालतले रवीन्द्रनविरुद्ध यो कडा फैसला सुनाएको हो। जेल सजायका साथै अदालतले उनलाई ९० हजार सिंगापुर डलर (करिब ७० हजार ५ सय अमेरिकी डलर) जरिवानासमेत बुझाउन आदेश दिएको छ।
अदालतले रवीन्द्रनलाई तत्काल कानुनी अधिकारीहरूका सामु आत्मसमर्पण गर्न र ‘बियर इन्भेस्टको प्राइभेट लिमिटेड’ नामक कर्पोरेट एकाइमा आफ्नो कानुनी स्वामित्व प्रमाणित गर्ने सम्पूर्ण कागजातहरू उपलब्ध गराउन निर्देशनसमेत दिएको छ।
अदालतका अनुसार रवीन्द्रनले सन् २०२४ को अप्रिल महिनादेखि आफ्नो सम्पत्तिसँग सम्बन्धित विषयमा जारी गरिएका विभिन्न अदालती आदेशहरूको निरन्तर उल्लंघन र उपेक्षा गर्दै आएका थिए। अदालतको आदेश पालना नगरेकै कारण उनीमाथि यो कठोर सजाय तय गरिएको हो।
सिंगापुरमा यो कानुनी मुद्दा कतार इन्भेस्टमेन्ट अथोरिटीको एउटा सहायक कम्पनीले दायर गरेको थियो। उक्त कतारी कम्पनीले विगतमा बायजूको एउटा ठूलो फन्डिङ राउन्ड (लगानी संकलन) का क्रममा मोटो रकम लगानी गरेको थियो।
कम्पनी संकटमा परेपछि र आन्तरिक विवाद चुलिएपछि विदेशी लगानीकर्ताहरूले आफ्नो लगानी फिर्ता माग गरिरहेका छन्। सिंगापुरको यस मुद्दाबाहेक रवीन्द्रन र उनको कम्पनीविरुद्ध अमेरिका लगायतका विभिन्न मुलुकहरूमा पनि कयौँ वित्तीय र कानुनी मुद्दाहरू चलिरहेका छन्, जहाँ विदेशी बैंकहरू १.२ बिलियन अमेरिकी डलर बराबरको ऋण असुलीका लागि संघर्ष गरिरहेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘ब्लूमबर्ग’ को रिपोर्टलाई उद्धृत गर्दै बताइए अनुसार, ६ महिनाको जेल सजाय सुनाइएका बायजू रवीन्द्रन हाल कुन स्थानमा छन् भन्नेबारे आधिकारिक रूपमा स्पष्ट भइसकेको छैन। उनी सिंगापुरमै लुकेर बसेका छन् वा अन्य कुनै मुलुकमा छन् भन्नेबारे कानुनी निकायहरूले अनुसन्धान गरिरहेका छन्।
कुनै समय संसारकै सबैभन्दा मूल्यवान् र प्रतिष्ठित मानिएको एडटेक स्टार्टअप कम्पनीका संस्थापक यसरी जेल सजाय पाउने र फरार हुने अवस्थामा पुगेपछि यतिबेला विश्वव्यापी व्यावसायिक बजारमा यसको ठूलो चर्चा भइरहेको छ।
कुनै समय भारतीय स्टार्टअप जगतका ‘पोस्टर ब्वाइ’ मानिने र विश्वकै सबैभन्दा मूल्यवान् अनलाइन शिक्षा प्रदायक (एडटेक) कम्पनीको रूपमा उदाएको ‘बायजू’ को पतन कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो गिरावटमध्ये एक बनेको छ।
सन् २०२२ मा २२ अर्ब अमेरिकी डलर (करिब २९ खर्ब रुपैयाँ) मूल्याङ्कन गरिएको यस कम्पनीको भ्यालु हाल शून्यको नजिक पुगेको छ भने यसका संस्थापक बायजू रवीन्द्रन सिंगापुरको अदालतबाट ६ महिनाको जेल सजाय पाउने स्थितिमा आइपुगेका छन्। २०२२ को त्यो समयमा रविन्द्रनको व्यक्तिगत सम्पत्ति पनि २.१ अरब डलर भएको फोर्ब्सको रेकर्ड छ तर अहिले उनी कंगाल भइसकेका छन् ।
केरलाका एक सामान्य इन्जिनियर रवीन्द्रनले सन् २०११ मा ‘थिङ्क एन्ड लर्न प्राइभेट लिमिटेड’ (बायजूको माउ कम्पनी) स्थापना गरेका थिए। सन् २०२० को कोभिड-१९ महामारी बायजूका लागि एउटा अभूतपूर्व अवसर बनेर आयो।
विद्यालयहरू बन्द भएपछि अनलाइन शिक्षाको माग ह्वात्तै बढ्यो। विश्वभरका ठूला लगानीकर्ताहरूले कम्पनीमा अर्बौँ डलर खन्याए। यही पैसाको बलमा रवीन्द्रनले ‘आकास एजुकेसनल’, ‘व्हाइटह्याट जुनियर’ र ‘ग्रेट लर्निङ’ जस्ता ठूला कम्पनीहरूलाई झन्डै ३ अर्ब डलरमा किनेर आक्रामक रूपमा व्यापार विस्तार गरे। कम्पनीले फुटबल लिजेन्ड लियोनेल मेस्सीलाई विश्वव्यापी ब्रान्ड एम्बेसडर बनाउनुका साथै भारतीय क्रिकेट टोलीको मुख्य जर्सी प्रायोजक समेत बन्यो।
कम्पनीको पतनको बीजारोपण सन् २०२१ को नोभेम्बरमा भयो, जब बायजूले विदेशी ऋणदाताहरूबाट १.२ बिलियन अमेरिकी डलर (टर्म लोन बी) ऋण लियो। महामारी सकिएसँगै विद्यार्थीहरू पुनः विद्यालय र भौतिक कक्षामा फर्किए, जसका कारण अनलाइन कोर्सहरूको माग तीव्र रूपमा घट्यो।
आम्दानी घटे पनि कम्पनीको खर्च र आक्रामक बजार रणनीति उस्तै रह्यो। अर्कोतर्फ, आन्तरिक रूपमा एउटा यस्तो कर्पोरेट संस्कृति विकास भयो जहाँ सेल्स टोलीहरूलाई जसरी पनि कोर्स बेच्न दबाब दिइन्थ्यो र गरिब अभिभावकहरूलाई समेत चर्को ब्याजको ऋणमा कोर्स किन्न बाध्य पारिएका रिपोर्टहरू सार्वजनिक भए, जसले कम्पनीको छविमा गम्भीर धक्का पुर्यायो।
कम्पनीले वर्षौँसम्म आफ्नो लेखापरीक्षण (अडिट) प्रतिवेदन सार्वजनिक गर्न सकेन। लामो ढिलाइपछि सार्वजनिक भएको सन् २०२१ को वित्तीय प्रतिवेदनमा कम्पनीले करिब ४,५८८ करोड भारु र सन् २०२२ मा ८,२४५ करोड भारुभन्दा बढीको विशाल नोक्सानी बेहोरेको देखियो।
यस वित्तीय लापरबाहीका कारण प्रतिष्ठित अडिटिङ कम्पनी ‘डेलोइट’ र पछि ‘बीडिओ’ (BDO) ले बायजूको अडिटर पदबाट राजीनामा दिए। यसले लगानीकर्ता र ऋणदाताहरूमाझ कम्पनीको पारदर्शितामाथि ठूलो शङ्का पैदा गर्यो।
विदेशी ऋणदाताहरूले ऋणको सर्त उल्लङ्घन गरेको भन्दै रकम फिर्ता मागेपछि विवाद अदालतसम्म पुग्यो। ऋणदाताहरूले बायजूमाथि ऋणको रकममध्ये ५३३ मिलियन डलर (करिब ७०० करोड रुपैयाँ) एउटा अज्ञात विदेशी इन्भेस्टमेन्ट फन्डमा लुकाएको आरोप लगाए।
यो कानुनी लडाइँ अमेरिका र सिंगापुरका अदालतहरूमा फैलियो। यसैबीच, भारतको क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) लाई बुझाउनुपर्ने १५९ करोड भारु स्पन्सरसिप बक्यौता तिर्न नसकेपछि बीसीसीआईले बायजूविरुद्ध टाट पल्टिएको मुद्दा दर्ता गरायो, जसले कम्पनीलाई टाट पल्टिने प्रक्रियामा धकेल्यो।
विदेशी लगानीकर्ता र बोर्ड सदस्यहरूले रवीन्द्रनमाथि वित्तीय कुप्रबन्धनको आरोप लगाउँदै उनलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट हटाउन मतदान गरे। यसै क्रममा कतार इन्भेस्टमेन्ट अथोरिटीको सहायक कम्पनीले सिंगापुरको अदालतमा मुद्दा दायर गर्यो।
अदालतले रवीन्द्रनलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न र ‘बियर इन्भेस्टको’ नामक एकाइमा रहेको स्वामित्वको कागजात पेश गर्न बारम्बार आदेश (अप्रिल २०२४ देखि) दियो। हरेक १० दिनमा तीन पटकसम्म स्मरण गराउँदा पनि रवीन्द्रनले अदालती आदेशको पालना गरेनन् र सम्पत्ति लुकाएको आरोप लाग्यो।
अन्ततः, अदालतको आदेशलाई निरन्तर अवज्ञा गरेको कसुरमा सिंगापुरको अदालतले उनलाई ६ महिनाको जेल सजाय र जरिवाना सुनाएको हो। कुनै समय २.१ अर्ब डलरका मालिक रवीन्द्रनको व्यक्तिगत सम्पत्ति अहिले शून्यमा झरेको छ।







डिसी नेपाल







Facebook Comment