सुनमा १२ वर्षकै सबभन्दा ठूलो गिरावट
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढेर नयाँ उचाइ बनाएको एक सातामै सुनको भाउमा उच्च दरको गिरावट आएको छ। सुनका अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्ने हतारो गरेसँगै सुनको मूल्यमा उच्च दरको गिरावट आएको हो।
सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ डलरसम्म पुगेको थियो। मंगलबार ६.३ प्रतिशत घटेर ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।
धेरै विश्लेषकले यसलाई ‘ढिलो आएको तर आवश्यक सुधार’ का रूपमा व्याख्या गरेका छन्। व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको लगानीको सुरक्षित उपकरणका रूपमा सुन बनेपछि भाउ पनि निरन्तर उकालो लागिरहेको थियो।
तर, पछिल्लो एक सातामा मात्रै सुनको भाउ ७ प्रतिशतभन्दा धेरैले घटेको छ। एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सलका अनुसार अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैं फुलेको थियो। मूल्य वृद्धिको यो क्रम अन्त्यतिर पुगेको संकेत हुनसक्ने उनले बताएकी छन्।
यस वर्ष सुनको मूल्यमा भएको ऐतिहासिक वृद्धि केही सातायता झन् तीव्र भएको थियो। दुई महिनामै २५ प्रतिशतसम्म मूल्य बढेको थियो।
‘छ सातामै १,००० डलर वृद्धि हुनुले नै मूल्य कति माथि पुगेको थियो भन्ने देखाउँछ,’ उनले भनिन्। मंगलबार चाँदी र प्लेटिनमको मूल्य पनि क्रमशः ७.४ प्रतिशत र ५ प्रतिशत घट्यो।
केही समययता सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था र डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनमा लगानी गर्नुले मूल्य बढेको थियो।
विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गर्नु पनि मूल्य बढ्नुको एउटा मुख्य कारण हो। पछिल्ला महिना ठूला संस्थागत लगानीकर्ताहरूले पनि सुनमा लगानी बढाएका छन्। सेप्टेम्बरमा मात्र सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरको नयाँ लगानी भएको थियो।
नेपालमा भने गत ३१ असोजमा सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो।
त्यस दिन तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा एकदिन पछि पर्ने गर्छ।
३० असोज अर्थात् १६ अक्टोबरमा हालसम्मकै उच्च भाउ कायम भएको सुन त्यसपछि भने निरन्तर घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटे पनि त्यसको असर नेपाली बजारमा देखिएको छैन । यो बीचमा सुनको भाउ २ लाख ५३ हजारसम्ममा झरेको छ।
त्यसपछि दिपावलीको बिदाका कारण सुनको कारोबार भएको छैन। त्यसले गर्दा सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य तोकेको छैन। आगामी साता सुनको कारोबार खुल्दा अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावलाई समायोजन गरेर मूल्य कायम गरिने संघले जनाएको छ।







डिसी नेपाल







Facebook Comment