वीरगन्ज नाकाबाट ईभीको आयात १ सय ३६ प्रतिशतले बढ्यो

डिसी नेपाल
८ कार्तिक २०८२ १४:४१
36
Shares

वीरगन्ज । डिजल, पेट्रोलबाट सञ्चालन हुने परम्परागत सवारी साधनलाई विद्युतबाट चल्ने इलेक्ट्रोनिक्स भेइकल (ईभी)ले विस्थापित गर्दै गएको छ। डिजल–पेट्रोलको दिनानुदिन बढ्दै गएको मूल्य र परम्परागत सवारीको मर्मत–सम्भारमा लाग्ने खर्चले गर्दा नेपाली उपभोक्ता ईभीतर्फ आकर्षित हुँदै गएका छन्।

नेपाली उपभोक्ता परम्परागत वाहनबाट ईभीतर्फ सर्दै गएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कले समेत पुष्टि गरेको छ। देशको मुख्य व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी नेपालका लागि हुने परम्परागत डिजल–पेट्रोलबाट चल्ने जिप, कार तथा भ्यानको आयातमा संकुचन देखिएको छ भने ईभीको आयातमा उल्लेख्य वृद्धि हुँदै गएको छ। ‘भविष्यको सवारी’ भनेर चिनिने विद्युतीय दुई पहिए तथा चार पहिए सवारी साधनको आयातमा उल्लेख्य वृद्धि भएको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज नाकाबाट नेपालका लागि ईभीको आयात १ सय ३६ प्रतिशतले वृद्धि भएको छ भने डिजल–पेट्रोलबाट चल्ने चार पांग्रे सवारी साधनको आयात २४ प्रतिशतले घटेको छ।

वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोजसम्मको तीन महिनामा १४ करोड ४९ लाख मूल्य बराबरका ९७ वटा विद्युतीय जिप–कार आयात भएकोमा चालु आवको सोही अवधिमा ६८ करोड ७५ लाख रुपैयाँको २ सय २९ थान सवारी आयात भएको छ।

समीक्षा अवधिको तुलनामा ५४ करोड २६ लाख बढी मूल्यका १ सय ३२ थान विद्युतीय जिप–कार बढी आयात भएको भन्सार कार्यालयले जनाएको छ।

त्यसैगरी, गत आवको पहिलो त्रैमासिकमा २१ करोड १७ लाख रुपैयाँका १ हजार ४ सय ८१ थान विद्युतीय मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा २८ करोड ७९ लाख रुपैयाँका २ हजार १ सय ९४ थान मोटरसाइकल आयात भएको छ। यो समिक्षा अवधिको तुलनामा ७ करोड ६२ लाख रुपैयाँ बढीका ७ सय १३ थान विद्युतीय मोटरसाइकल बढी आयात भएको भन्सार कार्यालयले जनाएको छ।

विद्युतबाट सञ्चालन हुने अर्थात् रिचार्जेबल सवारीको आयातमा वृद्धि भएसँगै डिजल–पेट्रोल प्रयोग हुने जिप–कारको आयात घट्दै गएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा डिजल–पेट्रोलबाट चल्ने जिप, कार तथा भ्यानको आयात २४ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ७६ करोड ५८ लाख रुपैयाँका ४ सय ३२ थान जिप, कार तथा भ्यान आयात भएकोमा चालु आवको सोही अवधिमा ६२ करोड २४ लाख रुपैयाँका ३ सय ३० थान सवारी आयात भएको छ। यो समिक्षा अवधिको तुलनामा मूल्यमा १५ प्रतिशत कम तथा संख्यामा १ सय २ थान कम सवारी आयात भएको हो।

नेपालमा मुख्यगरी भारतको टाटा र चीनको बिवाइडीले सबैभन्दा बढी विद्युतीय सवारी साधन भित्र्याएका छन्। पछिल्लो समय बढ्दै गएको विद्युतीय सवारी साधनको मागलाई ध्यानमा राख्दै चिनियाँ कम्पनी बिवाइडीले नेपालको विभिन्न सहरमा आफ्ना बिक्री केन्द्र स्थापन गरेको छ भने ठूलो संख्यामा चार्जिङ स्टेशनसमेत सञ्चालनमा ल्याएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *