हरिबोधिनी एकादशीपछि शुभ र मांगलिक कर्म गर्नु उत्तम ठानिन्छ

डिसी नेपाल
१५ कार्तिक २०८२ ८:५३
28
Shares

हरेक एकादशीको पृथक महत्व छ। त्यसमध्ये हरिबोधिनी एकादशीको विशेष महत्व छ। यो चतुर्मास व्रतको अन्त्यको दिन हो। चतुर्मास व्रत आषाढ शुक्ल एकादशीबाट सुरु हुन्छ र कार्तिक शुक्ल एकादशीमा गएर चतुर्मास व्रत अन्त्य हुन्छ।

विशेषगरी सत्य युगमा बृन्दाको श्रापबाट भगवान विष्णु घाँसका रुपमा उत्पत्ति हुनुभयो र तुलसीको रुपमा उहाँ पूजिनु भएको धार्मिक विश्वास छ। आषाढ शुक्ल एकादशीको दिन धर्तीमा आएर शयन गर्नुभएको र सुत्नुभएको भनाइ छ।

र, कार्तिक शुक्ल एकादशीको दिन उहाँ जागा हुनुभएको र उठ्नुभएको विश्वास छ। वितेको चार महिना नारायण सुतेको हुनाले धर्ती वा मत्र्यलोकभरी सबै जागा नहुने गरेको पाइन्छ। त्यसकारण शुभ कार्य गरिदैन्। हरिबोधिनी एकादशीका दिन नारायण जागा भइसकेपछि उहाँलाई विशेष रुपमा पूजापाठ गरिन्छ।

धर्तीमा आइदिनुभयो, पून्य वा धन्य बनाइदिनुभयो भनेर धन्यवादका साथ उहाँलाई दामोदर तुलसी विवाह गरेर बिदाई गर्ने दिनलाई हरिबाेिधनी एकादशी भनिएको हो। त्यसकारण यो दिन विशेष दिन हो। हामीले यस दिनलाई ठुलो एकादशी पनि भन्ने गर्दछौं। र कार्तिक शुक्ल एकादशीका रुपमा मान्ने गर्दछौं। यसको सांस्कृतिक र सामाजिक महत्व पनि धेरै छ।

विशेषगरी हरिबोधिनी एकादशीलाई वैज्ञानिक महत्वसँग पनि जोडिएको छ। हाम्रो शरीरमा पाँच वटा इन्द्रिय, पाँच वटा कर्म इन्द्रिय र एउटा आत्मा हुन्छ, यसरी एघार वटा चिजहरुको संयोजन भएर हाम्रो शरीर बनेको हुन्छ। एकादशी एघारवटा चिजको संयोजन भएकाले एघार इन्द्रियलाई शुद्ध पार्नको लागि एकादशीको व्रत बस्ने चलन छ।

एकादशीमध्ये हरिबोधिनी एकादशी सबैभन्दा ठूलो एकादशी हो। सामान्यतय वर्षभरिमा २४ वटा एकादशी हुन्छन्। र अधिकमास भएको बेलामा २६ वटा एकादशी पर्दछन्। त्यसमध्ये हरिबोधिनी एकादशी ठूलो एकादशी मानेर सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा पनि मान्ने चलन छ। सनातन हिन्दु, वैष्णव धर्म मान्नेहरुले विशेष रुपमा यो एकादशीलाई मान्ने गर्दछन्।

हरिबोधिनी एकादशी भन्दा पनि खासमा चतुर्मासभरि नै व्रत बस्दा राम्रो हुन्छ। चतुर्मासभरि नै व्रत गर्दा राम्रो हुन्छ। तर विभिन्न कारणले गर्दा चतुर्मासभरि नै व्रत गर्न सम्भव हुँदैन। त्यसो हुँदा हरि शयनी एकादशीको दिन एक दिन र हरिबोधनी एकादशीको दिन एक दिन चाहिँ अन्न नखाइ, कन्दमूलहरु मात्र खाएर वा सकेसम्म निराहारै रुपमा व्रत बस्दा उत्तम हुन्छ।

हरिबोधिनी एकादशीको दिन विशेषगरी तुलसी दामोदर विवाह गर्नुपर्ने भएकाले, तुलसीलाई कन्या बनाएर नारायणसँग विवाह गर्नुपर्ने भएको हुनाले भोजन गरिँदैन। विवाहको दिन कन्यादान गर्ने घरमा भोजन नै गर्दैनन्। त्यस कारणले हरिबोधनी एकादशीका दिन भोकै बसेर तुलसी दामोदर विवाह गर्ने चलन छ।

हरिबोधनी एकादशी भनेको चार महिनापछि नारायण उठ्ने वा साँस्कृतिक पर्व पनि हो। यो वैदिक विधि पनि हो। नारायण मत्र्यलोकमा मात्रै बसेर भएन, बैकुण्ठमा पनि हेर्नुपर्यो भन्ने हिसाबले यस दिनलाई विशेष मानिएको हो।

यस दिनको विहानको पनि बेग्लै नृत्यकर्म हुन्छ। बिहान सूर्योदय हुनुभन्दा दुई घडी अगाडि उठ्नुपर्छ। यसपटक सूर्योदय ६ः१५ को हाराहारीमा छ। दुई घडी अगाडि भनेको ४८ मिनेट अगाडि उठ्नुपर्छ। यसपटक झन्डै ५ः३० बजेतिर उठ्नुपर्यो। उठेर स्नान गरेर नित्य पूजा गर्नुपर्छ। शालिग्रामको पूजा गर्नुपर्छ। तुलसीलाई जल अर्पण गर्नुपर्छ। त्यसपछि तुलसी जहाँ रोपेका छौँ वा मोठमा विशेष पूजाआज गर्नुपर्छ।

मोठलाई श्रृङ्गारपटार गर्ने, लिङ्ग अर्थात उखु, बाँस राखेर त्यसलाई सजाउनुपर्छ। त्यसपछि मण्डप जस्तो बनाउनुपर्छ। भएसम्म शालिग्राम नभए विष्णुको फोटो त्यहाँ राखेर विधिपूर्वक तुलसी र दामोदरको विवाह सम्पन्न गर्ने विधि अपनाउनुपर्छ।

विशेषगरी तुलसीको विवाह भनेको के हो भने शारीरिक, मानसिक रुपमा र चिन्तनले पनि पवित्र बन्नुपर्छ भन्ने हो । हामी पवित्र भयौँ भने गरेका कर्महरु पनि पवित्र हुन्छन् भन्ने विश्वास छ। यो लोकमा मात्र नभइ परलोकमा पनि पुण्य प्राप्त हुन्छ र लोकको पनि कल्याण हुन्छ भन्ने विश्वास छ। यो एउटा सांस्कृतिक मान्यता पनि हो। यसले हामीलाई एक किसिमको अनुशासन पनि सिकाउँछ।

हाम्रो समाजमा विवाहको विशेष महत्व छ। यसको फरक विधि पनि छ। हरिवोधनी एकादशीको दिनमा तुलसी र दामोदरलार्इ सँगै राखेर विवाह जसरी गर्छौं त्यसरी नै लगन गाँठो बनाएर माला लगाइदिएर विवाह गर्ने चलन छ। विवाहमा नारायणको हवन गर्नुपर्छ।

मंसिर कृष्ण मार्ग कृष्ण पञ्चमीसम्म यो हवन हुन्छ। र पञ्चमीसम्म विवाह हुँदैन। पञ्चमीसम्म नारायणलाई हवन गरेर विदा गर्ने चलन छ। त्यसपछि मात्र सर्वसाधारणले ववाह गर्ने परम्परा छ। त्योभन्दा अगाडि गर्नु हुँदैन भन्ने विश्वास छ।

विशेषगरी कार्तिकमा विवाह गर्नु हुँदैन भनेको नबुझेर भनेको हो। विशेषगरी नारायण नै निदाउनु भएको वा कर्मसाक्षी नारायण निदाइरहनु भएको बेलामा कसरी कर्म गर्ने भनेर प्रश्न गर्ने गरिन्छ। त्यसकारणले नगर्ने भनेको हो। यसलाई अपभ्रंश हुँदाहुँदै अहिले आएर कात्तिकमा विवाह गर्नु हुँदैन भनिएको हो। तर बुझ्नुपर्ने कुरा के हो भने चतुर्मासभरि नारायण निदाएको बेलामा पून्य कार्य नहुने भनिएको हो। कर्मको साक्षी नै छैनन् भने कसरी शुभ कार्य गर्ने, मांगलिक कार्य कसरी गर्ने भनेर भनिएको हो। कार्तिक महिना भनेर भनेको होइन।

विशेष कार्तिक शुक्ल एकादशीमा नारायणको तुलसी दामोदर विवाह सम्पन्न हुन्छ। त्यसपछि मार्ग कृष्ण पञ्चमीको दिनसम्म हवन हुने र हवनमा नयाँ अन्न, नवअन्नहरू जुन छन् नि, नवअन्नहरू चढाएर नुवागी खाने चलन पनि छ। त्यो नगरेसम्म हाम्रो खेतीपाती भित्र्याउन काम पनि सम्पन्न हुँदैन भनिन्छ।

अनि त्यस्तो बेलामा विवाह गर्न थाल्यो भने त राम्रो हुँदैन कि भन्ने हो। किनकी हामी कृषिमा निर्भर भयौँ नि त। त्यस्ता कुराहरुलाई नियन्त्रण गर्नको लागि पनि कार्तिकमा विवाह गर्नु हुँदैन भनेर सहज तरिकाले बुझाएको हो। यसलाई अन्यथा अर्थमा लिनुहुन्न।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.