रोड टु यूएफसीको सेमिफाइनलमा रवीन्द्र

डिसी नेपाल
१४ जेठ २०८३ १८:०५

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्सका फाइटर रवीन्द्र ढाटले प्रतिष्ठित ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेका छन्।

बिहीबार मकाओको ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा रवीन्द्रले फिलिपिन्सका फाइटर किमबर्ट एलिन्टोजोनलाई पराजित गरेका हुन्। खेलको दोस्रो राउन्डमा रवीन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीलाई ‘टेक्निकल नकआउट’ का आधारमा धूलिचाट पारेका थिए।

‘रोड टु यूएफसी’ को मञ्चमा प्रतिस्पर्धा गर्ने रवीन्द्र पहिलो नेपाली खेलाडी हुन्। पहिलो सहभागितामै क्वार्टरफाइनलको बाधा पार गरेर उनले नेपाली मार्सल आर्ट्सको इतिहासमा नयाँ कीर्तिमान समेत थपेका छन्।

एसियाका उत्कृष्ट फाइटरहरूलाई विश्वकै प्रतिष्ठित एमएमए संस्था ‘यूएफसी’सँग व्यावसायिक सम्झौता गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिँदै आएको छ। अब सेमिफाइनल र फाइनल खेल जितेमा रवीन्द्र यूएफसीको मुख्य मञ्चमा पुग्ने पहिलो नेपाली खेलाडी बन्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *