‘संसद पुनर्स्थापना हुनुपर्छ, केपी ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी एमालेले दिन्छ’

डिसी नेपाल
१ मंसिर २०८२ १३:५१
220
Shares

जनकपुर। नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार नभएको दाबी गरेका छन्।

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत जिकिर गरे।

जेन-जी आन्दोलनको क्रममा अपराधीहरु जेलबाट फरार भएको र हतियार लुटिएको अवस्थामा मुलुकमा अहिले पनि भयको वातावरण रहेको उनले बताए। सरकारले मुलुकमा भयरहित वातावरणको सिर्जना गर्न नसकेकोले चुनाव हुने सम्भावना नरहेको उनको भनाइ छ।

अधिकारीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयकालागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण गर्नुपर्ने बताए।

प्रतिनिधिसभा पुनर्स्थापना भए तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको उनको भनाइ छ। पार्टी बलियो बनाउन अझै केपी ओलीकै नेतृत्व आवश्यक रहेको बताउँदै अधिकारीले आउने महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरे।

अधिकारीले संघीयतालाई बलियो बनाउन मधेश प्रदेशमा देखिएका समस्या अन्त्य गर्दै दलहरु एकताबद्ध हुनुपर्ने सुझाव दिए।

फरक प्रसंगमा उनले मधेश प्रदेशको अहिलेको राजनीतिक अवस्थाका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताए। अधिकारीले मधेश प्रदेशका सबै दलहरुले क्षणिक राजनीतिक स्वार्थ बिर्सेर एक जुट भएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

उनले मधेश प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि सबैदलहरु एकताबद्ध हुनु पर्ने जनाए। पदका लागि भइरहेको राजनीतिक खेलले संघीयता विरोधहरु बलियो हुँदै गइरहेको अधिकारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *