झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो

डिसी नेपाल
६ मंसिर २०८२ १२:४२
16
Shares

झापा । नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जंगली क्षेत्रमा बसेपछि मानवहात्ती द्वन्द्वको जोखिम बढेको छ। वन्यजन्तु संरक्षणमा चासो दिइरहेकाहरूले पहिल्यैदेखि यी दुई जिल्लाको जंगलमा घटीमा ३० वटा रैथाने हात्ती रहेको बताउँदै आएका छन्। अब फेरि हात्ती थपिएपछि मानवसँग द्वन्द्व बढ्ने त्रास उत्पन्न भएको हो।

गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जंगलबाट पूर्वतर्फ लागेका २५ देखि ३० वटा हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो। ती हात्तीको बथान दुई वर्ष अघि बाहुनडाँगी गौडाबाटै नेपाल भित्रिएका थिए।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले मोरङबाट झापाको रतुवामाई वृक्षरोपणको जंगल क्षेत्रसम्म आइपुगेका हात्तीको बथान छिन्नभिन्न भएर ठूलो सङ्ख्या मोरङतिरै फर्किसकेको र अरु दुई झुण्ड झापाको जंगलतिरै बरालिरहेको जानकारी दिए।

सीमित क्षेत्रफलको जंगलमा लगातार हात्तीको संख्या थपिदै जाँदा मानवहात्ती द्वन्द्व स्वतः बढिरहेको छ। जंगलमा हात्तीका लागि त्रासरहित बास र पर्याप्त आहार छैन। भोकाएर हात्तीको बथान गाउँबस्तीतिर प्रवेश गर्ने हुँदा त्यसको मार जंगल छेउका बासिन्दाले व्यहोरिरहेका छन्।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले मोरङको जंगलबाट पूर्व लाग्नेबित्तिकै हात्तीको बथान सरासर हिँडेर भारततिरै जान्छ भन्ने सोचाइ गलत भएको बताए। ‘हात्ती घुमन्ते प्राणी हो, तर उसले आहार र सुरक्षित बासस्थान पाउञ्जेल हत्तपत्त ठाउँ छाडिहाल्दैन’, उनले भने, ‘मोरङबाट झापातिर आइपुगेको हात्तीको बथानमा साना बच्चाहरू र किशोर उमेरका हात्तीको सङ्ख्या अधिक छ। उनीहरूलाई माउ हात्तीले डुलाउँदै, खुवाउँदै र ठाउँ चिनाउँदै ढिलो बसाई सार्छन्।’

भारतको आसामदेखि पश्चिम बङ्गालको सुकुना हुँदै नेपाल भित्रिने बथानका हात्तीले पुस्तौँदेखि निरन्तर ओहोरदोहोर गरिरहेको उनले बताए। हाल झापा र मोरङमा आहारका लागि धान, मकै र केरा पर्याप्त भएकाले हात्तीहरू भारततिर नगएको हुनसक्ने उनको भनाइ छ।

झापामा बथान छुट्टिएका हात्तीसँग दमकको हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा स्थानीयवासीको जम्काभेट हुन थालेको छ। बथानमा रहेका हात्ती दिनभरि बाक्लो बन क्षेत्रमा बास बस्ने र दिउँसो आहाराको खोजीमा हिँड्ने गर्छन्। जंगलमा दाउरा लिन र गाईबस्तु चराउन जानेहरू हात्तीको आक्रमणमा पर्ने उच्च जोखिम छ।

रैथाने हात्तीको तुलनामा बसाई सरी आएका बथानका हात्ती कम आक्रामक हुने गरेको खरेलले बताए। उनले जनावर भएकाले हात्तीलाई जिस्काउने, आगो झोस्ने र बिथोल्ने गतिविधि गर्दा नै मानवीय क्षति निम्तिने गरेको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.