पत्रकार पक्राउ र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेपप्रति कांग्रेस नेता आङदेम्बेको आपत्ति

डिसी नेपाल
१४ कार्तिक २०८३ १५:०४
8
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप गर्ने कार्यप्रति आपत्ति जनाएका छन्।

उनले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने, समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई त्रसित बनाउने र कार्यस्थलबाट कर्मचारीलाई धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएका छन्। उनले यस्ता गतिविधिलाई राज्यशक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको हमला भनेका छन्।

अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरण तथा उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउने विषयमा समाचार सार्वजनिक भएपछि पत्रकारमाथि धरपकड भएको उनको भनाइ छ। केही पत्रकारलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको र केहीलाई साइबर ब्युरोमा बोलाइएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

आङदेम्बेले पत्रकार पक्राउ प्रधानमन्त्री कार्यालयकै दबाबमा भएको प्रहरी अधिकारीले बताएको दाबीसमेत गरेका छन्। यस्ता घटनाबारे प्रधानमन्त्रीको सचिवालय र गृह प्रशासन बेखबर देखिनु तथा प्रहरीबाट स्पष्ट जवाफ नआउनुले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको उनले उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्रीसहित राज्यका सबै निकायलाई कानुनअनुसार काम गर्न र स्थापित अनुसन्धान निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन आग्रह गरेका छन्। संविधानप्रदत्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी शासनको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारमाथि भएका धरपकड र अनधिकृत हस्तक्षेपको भर्त्सना गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *