२०० भन्दा बढी कन्टेन्ट क्रियटरमार्फत ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार गरिने
काठमाडौं। नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार तथा प्रवर्द्धन गर्न २०० भन्दा बढी कन्टेन्ट क्रियटर परिचालन गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा नेपाल पर्यटन बोर्डले यस्तो अभियान सञ्चालन गर्न लागेको हो।
प्रविधिको बढ्दो प्रयोगसँगै नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानको उद्देश्य रहेको छ।
यस अभियानमा खानपान, भेषभूषा, यात्रा, छायाचित्र, भिडियोग्राफी, कला, संस्कृति तथा जीवनशैलीलगायत विधामा सक्रिय २०० भन्दा बढी कन्टेन्ट क्रियटर सहभागी हुनेछन्। उनीहरूले देशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्नै सिर्जनात्मक शैलीमा तस्बिर, भिडियो तथा अन्य सामग्री तयार गर्नेछन्।
पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम र सिर्जनशील युवाको भूमिका महत्त्वपूर्ण हुने र यस अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी कन्टेन्ट क्रियसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्ने भन्दै सुरुवात गर्न लागिएको बताइएको छ।
नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, तस्बिर तथा भिडियो सामग्री उत्पादन र डिजिटल कन्टेन्ट बैंक निर्माणलाई प्राथमिकतामा राखेको छ। सोही योजनाअनुसार विभिन्न विधाका कन्टेन्ट क्रियटरसँग सहकार्य गर्न लागिएको हो।
व्यक्तिगत अनुभव, स्थानीय कथा, खानपान, संस्कृति र जीवनशैलीमा आधारित सामग्रीमार्फत स्थापित पर्यटकीय गन्तव्यसँगै ओझेलमा परेका नयाँ गन्तव्यको समेत पहिचान र प्रचार हुने बोर्डको अपेक्षा छ। यसबाट पर्यटन प्रवर्द्धनसँगै नयाँ प्रतिभालाई अवसर, रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार हुने विश्वास गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment