मुख्यमन्त्री शाहले कांग्रेसभित्र पछिल्ला दिनमा असन्तुलित अभिव्यक्ति आइरहेको भन्दै जनाए आपत्ति

डिसी नेपाल
६ मंसिर २०८२ १५:०५
40
Shares

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसभित्र पछिल्ला दिनहरूमा देखिएको असन्तुलित अभिव्यक्ति र अनुशासनहीन प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्।

शनिबार नेपाली कांग्रेस त्रिवेणी नगर कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले हालै एक टेलिभिजन अन्तर्वार्तामा विशेष महाधिवेशनको कुरा उठाउने व्यक्तिहरूले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गरी प्रयोग गरेका अशिष्ट र अमर्यादित शब्दप्रति असन्तोष व्यक्त गरे।

मुख्यमन्त्री शाहले पार्टी विधि र पद्धतिमा चल्ने संस्था भएकाले कसैले पनि जथाभावी बोल्ने छुट नहुने प्रष्ट पारे। उनले तत्काल केन्द्रीय समिति बैठक बोलाई आवश्यक कारबाही गर्न माग गरे।

हालै प्राइम टेलिभिजनको अन्तरवार्तामा कांग्रेस नेता शंकर तिवारीले पार्टी सभापति देउवालाई लक्षित गरी प्रयोग गरेको शब्दप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री शाहले पार्टीभित्र अनुशासन, मर्यादा र शुद्धीकरण आवश्यक रहेको उल्लेख गरे।

सभापति देउवाले मुलुक र पार्टीका लागि पुर्‍याएका योगदानलाई स्मरण गर्दै उनले भने, ‘गैरजिम्मेवारीपूर्ण भाषा प्रयोग गर्न कसैलाई छुट छैन, पार्टीमा अनुशासन बलियो बनाएर जानै पर्छ।

कार्यक्रमको अर्को प्रसङ्गमा मुख्यमन्त्री शाहले वर्तमान राजनीतिक जटिलताका बीच एकता, संयम र वैचारिक स्पष्टता अपरिहार्य भएको जनाए। देउवाको नेतृत्वमा पार्टी र देशलाई निकास दिन सकिने विश्वास व्यक्त गर्दै उनले सबैलाई विचलित नहुन, एउटै ठाउँमा उभिन र शुद्धीकरणसहित पार्टीलाई सही दिशातर्फ लैजान आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *