यातायातमन्त्री घिसिङले गरे अरनिको राजमार्ग विस्तार कार्यको निरिक्षण
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरिक्षण गरेका छन्।
शनिबार मन्त्री घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरिक्षण गर्दै कार्यप्रगतिका बारेमा जानकारी लिएका हुन्। सो क्रममा काभ्रेको बनेपा क्षेत्रमा देखिएका चुनौती, प्रगति र आवश्यक समन्वयका विषयमा बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्यले मन्त्री घिसिङलाई जानकारी गराएका थिए।
मेयर शाक्यले बनेपाको पुलबजारलगायत पुरै बनेपा बजार क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापन, संरचना हटाउने प्रक्रिया, पानी–धारा तथा बिजुली सर्ने कार्यका कारण स्थानीयले भोग्नुपरेका समस्या र आगामी योजना बारे अवगत गराएका थिए।
मन्त्री घिसिङले राजमार्ग विस्तार कार्य राष्ट्रिय प्राथमिकताको विषय भएकाले बनेपा क्षेत्रलाई नमुना स्वरूप विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले काममा देखिएका अवरोध तत्काल समाधान गर्दै स्थानीयस्तरमा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए।







डिसी नेपाल







Facebook Comment