सहिद तथा बेपत्ता परिवारलाई न्याय गरेका छौँ : संयोजक दाहाल

डिसी नेपाल
७ मंसिर २०८२ २३:२३

त्रिशूली (नुवाकोट) । नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद तथा बेपत्ता परिवारका लागी गर्व गर्न लायक योगदान पुर्‍याएको बताएका छन्।

नुवाकोटको लिखु गाँउपालिका५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको परिवर्तनका लागि सहिदले पुर्‍याएको योगदानको उच्च प्रशंसासहित आफूले गर्नसक्ने सम्मान प्रदान गरेको बताए।

जनयुद्धको सफलता, सङ्घीय गणतन्त्र, संविधानसभामार्फत नयाँ संविधान जारी, राज्य पुनःसंरचनाको निर्माणलगायत सहिद, बेपत्ता र घाइते योद्धाको बलिदानको उपलब्धि भएकाले त्यसलाई संस्थागत गर्न सक्ने जति राहत उपलब्ध गराएको उनको भनाइ छ।

पहिलो पटक प्रधानमन्त्री हुँदाको पहिलो निर्णय नै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने थियो। तर, कार्यान्वयनमा ल्याउन सकिएको थिएन,’ दाहालले भने, प्रधानमन्त्री कार्यकालको तेस्रो पटकमा जनयुद्धसहित सबै किसिमका आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्दै राजपत्रमा सूचना प्रकाशित गर्दा गर्व लागेको छ। यसलाई ठूलो उपलब्धि मान्नुपर्छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन तथा कानुन बनाउने विधेयकलाई अन्तिम निर्णयमा पु्र्‍याउन सफल भएकाले अबको प्रयास त्यसमा गरिएको परिपूरण कार्यान्वयन गराउन केन्द्रित हुने उनले प्रतिबद्धता जनाए।

परिपूरणमा सहिद र बेपत्ता परिवारलाई परिचयपत्र प्रदान गर्ने, सार्वजनिक सेवा प्रवाहमा छुट सुविधा उपलब्ध गराउने, परिवारका एक जनालाई रोजगारीको प्रबन्ध मिलाउनेसहित न्यूनतम रु १० लाख प्रदान गर्ने उल्लेख छ। सोही कार्यान्वयनको लागि आफूले प्रयास जारी राखेकाले सहिद र बेपत्ता परिवारलाई न्याय दिन जस्तो सुकै मूल्य चुकाउन पनि तयार हुने उनले विश्वास दिलाए।

परिपूरणको कार्यान्वयन शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने व्यवस्थाअन्तर्गत महत्त्वपूर्ण कदम हुने भएकाले त्यसका लागि अन्तरराष्ट्रिय नियोगको समर्थन र दातृ निकायबाट आर्थिक सहयोग जुटाइ कार्यान्वयन गराइने उनको भनाइ छ।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री दाहालबाट यहाँको लिखु गाउँपालिका५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आज एकसाथ उद्घाटन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राप्त रु ९० लाख लगानीमा निर्माण गरिएको भवनलाई कार्यालय बनाइएको छ भने स्मृति पार्कमा जनयुद्धको समयमा लिखु गाउँपालिकाबाट दिवङ्गत भएका ११ जना सहिद र बेपत्ता एक जनासहित १२ जनाको शालिकको उनले अनावरण गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *