यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

डिसी नेपाल
८ मंसिर २०८२ १७:५५
200
Shares

काठमाडौं। सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए। हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन्।

बैठकले अतिरिक्त नायब महानिरिक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनको हरित ऊर्जा सम्बन्धी परियोजनाका लागि २५ दशमलव ५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने भैरहवाका विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर रु २० रहेकोमा त्यसलाई घटाएर रु ५ कायम गर्ने निर्णय गरेको छ।

त्यस्तै नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्रै रहनेगरि केहि कार्यालयहरुको पद मिलान तथा दरबन्दी थपघट र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पुनले बताए। जेनजी आन्दोलनमा घाइतेहरुका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा खटाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए।

बैठकले भूमिसम्बन्धी नवौ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.