निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं: गृहमन्त्री अर्याल
भैरहवा। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेन-जी युवाहरुबाट भाद्र २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएकोले नै त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएका बताएका छन्।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२ कार्यक्रममा आफ्नो उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएका हुन्।
अहिलेको सामान्य परिस्थितिमा आइपुग्न सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण प्रयासका कारण शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको बताउँदै मन्त्री अर्यालले सुशासन प्रबर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताए।
“हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं। विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरु कहीँ कतै सुनिएका छन्। सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ,” मन्त्री अर्यालले भने।
“वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन। हामी कुनै अपेक्षाले आएका होइनौं। देशको विशिष्ट अवस्थामा, शुन्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं। हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन। प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित छ। त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचीत सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,” गृह मन्त्री अर्यालले भने।
सुरक्षा गोष्ठीले सबैलाई आश्वस्त पार्ने गरी निर्वाचनको सुरक्षा तयारी गर्नेमा समेत मन्त्री अर्यालले विश्वास व्यक्त गरे। शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सृजनामा प्रदेश सरकारको पनि भूमिका उत्तीकै महत्वपूर्ण रहनेमासमेत मन्त्री अर्यालले जोड दिए।
गोष्ठीमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका तीनै सुरक्षा निकायका प्रमुखहरु दानबहादुर कार्की, राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, लुम्बिनी प्रदेश प्रमुख सचिव कृष्ण प्रसाद काप्री, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी प्रेम बहादुर पुन, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थी, आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लोक बहादुर सुनार, प्रदेश सुरक्षा निकायका पदाधिकारीहरु र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीहरु तथा विभिन्न सञ्चार माध्यममा आवद्द संचारकर्मीहरुको उपस्थिति रहेको छ।








डिसी नेपाल






Facebook Comment