डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री खरेल

डिसी नेपाल
९ मंसिर २०८२ १४:४२
12
Shares

काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय नेपाल टिमद्वारा मंगलबार आयोजित ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ को औपचारिक शुभारम्भ गर्दै मन्त्री खरेलले महिला र बालिकाहरूविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

यस वर्षको विश्वव्यापी नारा ‘युनाइट टु एन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड गर्ल्स’ (सबै महिला र बालिकाहरूविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि एक होऔँ) निकै सान्दर्भिक रहेको भन्दै मन्त्री खरेलले डिजिटल दुनियाँ अब दैनिक जीवनभन्दा अलग नरहेको उल्लेख गरे। उनले प्रविधिले सिकाइ र कामलाई सहज बनाए पनि धेरै महिला तथा किशोरीका लागि यो क्षेत्र अझै पनि जोखिमपूर्ण र असुरक्षित रहेको औंल्याए।

मन्त्री खरेलले डिजिटल हिंसालाई वास्तविक हिंसाकै रूपमा परिभाषित गरे। “अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमतिबिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्छ,” उनले भने‚ “यसले महिलाको आवाज बन्द गराउने, उनीहरूलाई डिजिटल स्थानबाट बाहिर धकेल्ने र अभिव्यक्ति तथा सूचनाको मौलिक हक कुण्ठित गर्ने काम गर्छ।”

सञ्चार मन्त्रालयको मिसन पूर्वाधार निर्माण र सेवा विस्तारमा मात्र सीमित नभई प्रत्येक नेपाली नागरिकका लागि सुरक्षित, समावेशी र सशक्तीकरण गर्ने डिजिटल इकोसिस्टम निर्माण गर्नु रहेको पनि उनको स्पष्टोक्ति छ। उनले राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनचेतनाका लागि काम गरिरहेको र हालै राष्ट्रिय एआई सेन्टरको स्थापनाले भविष्यमुखी डिजिटल नेपाल निर्माणप्रतिको प्रतिबद्धता देखाएको उल्लेख गरे। प्रविधिको क्षमतासँगै यसको जिम्मेवार प्रयोग सुनिश्चित गर्नु मन्त्रालयको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।

डिजिटल हिंसाविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै मन्त्री खरेलले कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउने प्रतिबद्धता जनाए। उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई जवाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने जानकारी दिए। साथै शिक्षा क्षेत्रसँग सहकार्य गर्दै पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, निजी क्षेत्र र नवप्रवर्तकलाई सुरक्षित प्लेटफर्म विकास गर्न प्रोत्साहन गर्ने तथा तीनै तहका सरकार, संयुक्त राष्ट्रसंघ र नागरिक समाजसँग सहकार्य बढाउने योजना पनि उनले अघि सारे।

मन्त्री खरेलले डिजिटल नेपाल सबैका लागि सुरक्षित हुनुपर्नेमा जोड दिए। उनले भने, “डिजिटल स्थानलाई सुरक्षित र उज्यालो बनाउन हामी संकल्प गरौँ। हामी यस्तो इन्टरनेट निर्माण गरौँ जहाँ आवाजहरू दबाइने होइन, बुलन्द पारियोस्‚ जहाँ सम्भावनाहरू डरले थुनिने होइन, खुला गरियोस् ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.