विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं : अध्यक्ष नेपाल

डिसी नेपाल
११ मंसिर २०८२ १६:४६
40
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले वर्तमान पार्टी एकताको आधार नै बलियो रहेको बताएका छन्।

बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले पार्टीहरुको सबैभन्दा मुख्य कुरा नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद र समाजवादको कार्यक्रमको बारेमा साझा सहमति भएको भन्दै अब सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको निर्माणको उद्देश्य पूरा गर्न अगाडि बढ्ने बताए।

उनले भने, ‘यो एकता जुन छ, यसको आधार नै बलियो छ। विचार मिलेको छ, सिद्धान्त मिलेको छ, मिति र कार्यक्रम मिलेको छ। सबैभन्दा मुख्य कुरा नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद र समाजवादको कार्यक्रमको बारेमा हाम्रो साझा सहमति भएको छ। नेपालको अर्थतन्त्रलाई दिगो, फराकिलो बनाउनु पर्ने र सँगै सन्तुलित रुपमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उद्देश्यलाई साकार पार्ने दिशामा अगाडि बढ्नु पर्ने छ।’

यस्तै, उनले समृद्ध जीवनयापनको सुनिश्चितता भएको समाजको निर्माण गर्ने जनताको चाहानालाई पूरा गर्ने गरि इमान्दारिताका साथ भ्रष्टाचारको विरुद्धमा जुधेर र सुशासनको प्रत्याभूति गर्ने काममा पनि जुटेको बताए।

उनले भने, ‘समानतायुक्त, न्यायपूर्ण विकासको बाटोमा अघि बढेको समृद्ध जीवनयापनको सुनिश्चितता भएको समाजको निर्माण गर्ने जनताको चाहानालाई पूरा गर्ने गरि इमान्दारिताका साथ भ्रष्टाचारको विरुद्धमा जुधेर र सुशासनको प्रत्याभूति गरेर विदेशमा पलायन हुने अहिलेको युवाहरुको अवस्थालाई अन्त्य गरेर कामबाट कुराबाट होईन।’

विगतमा भएका गल्ती कमजोरीको समिक्षा गरेर त्यसलाई सुधार गर्ने संकल्प गरेर अगाडि बढ्नु पर्ने भन्दै उक्त कामले मात्र जनताको आशाको केन्द्रको रुपमा नेपाली कम्युनिष्ट पार्टीलाई स्थापित गर्न सक्ने उनको भनाई छ।

उनले भने, ‘हिजो केही पनि काम भएन भन्ने खालको जुन निराशा छ त्यसलाई चिरेर भएको कामको प्रचार गर्नुपर्छ। गल्ती कमजोरीको समिक्षा गरेर त्यसलाई सुधार गर्ने संकल्प गर्नुपर्छ यो सबै हिसाबले अगाडि बढ्ने हो भने जनताको आशाको केन्द्रको रुपमा नेपाली कम्युनिष्ट पार्टीलाई स्थापित गर्न सक्छौ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *