प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आक्रोशित मुस्लिम समुदायले बुझायो ध्यानाकर्षण पत्र
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिलाई लिएर यतिबेला मुस्लिम समुदाय आन्दोलित बनेको छ। गत मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले मुस्लिम महिला लक्षित दिएको अभिव्यक्तिलाई लिएर देशभर मुस्लिम समुदाय आन्दोलित बनेको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मुस्लिम समुदायका महिलाप्रति गलत र भ्रामक अभिव्यक्ति दिएको मुस्लिम अगुवा एवं कांग्रेस नेता डा. अबुल हुसेन अन्सारीले बताए।
‘मुस्लिमहरूको प्रवृत्ति-व्यवहार हेर्दा यति अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको छ। कतिमा उद्धार पनि छ,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन्।
उनी त्यत्तिमै रोकिइनन्। अगाडि पथिन्, ‘पहिलेको अरेबियनकालका मुस्लिम देशहरू हेर्नुहुन्छ भने सुडान, इजिप्टमा महिलाहरू डाक्टर भएका पनि छन्। महिलाहरू सम्पत्तिमा बलिया छन्। आर्यनहरू आइसकेपछि आर्यनहरूको कल्चर एकदमै उदार र राम्रो थियो। जब मुस्लिमहरूले हमला गर्न थालेपछि उनीहरूले सात वर्षको बच्चाको विवाह गर्ने र अरू कुराहरूलाई पनि संकिर्ण बनाउँदै लगे भन्ने छ। धर्मले महिलालाई दु:ख र पीडा देउ भनेको छैन।’
प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको रहेको भन्दै हुसेनले आपत्ति जनाए। प्रधानमन्त्रीको भनाइ असंवेदनशील, संकीर्ण र तथ्यगत रूपमै गलत रहेको उनको भनाइ छ।
कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका हुसेन इजिप्ट र सुडानको प्रशंसा गर्दा नेपाल, बाङ्लादेश जस्ता दक्षिण एसियाली देशमै मुस्लिम महिला डाक्टर/ईन्जिनियर बनेको तथ्यलाई नजरअन्दाज गर्न नहुने बताउँछन्।
कपिलवस्तु, कृष्णनगरकी रोशन आरा साढे तीन दशक पहिले नै डाक्टर बनिसकेकी उनले स्मरण गरे। उनले आज मात्रै प्रधानमन्त्रीको सचिवालयमा ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिँदै मुस्लिम समुदायसँग माफी माग्न माग गरेका छन्।
नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान प्रधानमन्त्रीबाटै यस्तो अभिव्यक्ति आउनु स्वभनीय विषय नभएको बताउँछिन्।
मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले व्यक्तिगत कमीजोरी जुनसुकै धर्म मान्ने मान्छेको हुने भए पनि समग्र धर्म वा समुदायलाई लाञ्छित हुने गरी अभिव्यक्ति दिनु कानुन विपरित हुने बताउँछन्। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फर्ता नलिए चरणवद्ध आन्दोलनका कार्यक्रम थालिने चेतावनी दिएका छन्।








डिसी नेपाल







Facebook Comment