०८२ को मंसिर भित्रै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला मात्रै हुन् : उपसभापति गुरुङ
विराटनगर। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र हाल उठिरहेको महाधिवेशनसम्बन्धी बहसबारे टिप्पणी गर्दै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्छ भन्ने स्पष्ट माग डा. शेखर कोइरालाले मात्र गरेको दाबी गरेका छन्।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक केन्द्रीय समितिको आठौं परिषद् सभालाई विराटनगरमा सम्बोधन गर्दै उनले भदौ २२ गतेअघिसम्म केन्द्रीय समितिमा कसैले महाधिवेशन समयमै गर्नुपर्ने कुरा नउठाएको र पदावधि बढ्ला कि भन्ने आशामा सबै मौन बसेको बताए।
जेनजी आन्दोलनपछि पार्टीभित्र अचानक बहस बढेको उल्लेख गर्दै उनले महाधिवेशन समयमै गर्ने कुरा अघि उठेको भए त्यो जायज मानिन सक्ने धारणा राखे। गुरुङले सिंहदरबारसहित संरचना जलाउने तत्त्वलाई जेनजी आन्दोलनसँग जोड्नु गलत भएको उल्लेख गर्दै देशमा अस्थिरता सिर्जना गर्ने समूह सक्रिय रहेको दाबी गरे।
उनले २०६२ सालअघि ग्रामीण जीवनका कठिनाइ स्मरण गर्दै पछिल्ला वर्षमा सडक, टेलिफोन र पूर्वाधार विकास भए पनि नकारात्मकता मात्र फैलाउनेहरू सक्रिय रहेको बताए।
वर्तमान निर्वाचन प्रणालीले देशलाई निकास नदिने भन्दै उनले संविधान संशोधन नगरी निर्वाचनमा जान नहुने तर्क प्रस्तुत गरे। जेनजी आन्दोलनपछि प्रहरीको मनोबल कमजोर भएको र यस्तो अवस्थामा निर्वाचन सम्भावना न्यून रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए।
यसैबीच, कांग्रेस-सम्बद्ध एनटियुसीले कात्तिक २१–२२ को बैठकपछि १६ बुँदे धारणा सार्वजनिक गरेको र विराटनगरमा राष्ट्रिय भेला आयोजना गरेर ट्रेड युनियन अधिकार खोस्ने प्रयास भए एनटियुसी अग्रसर हुने चेतावनी महासचिव अजयकुमार राईले दिएका छन्। उनले विदेशमा रहेका श्रमिकले आफ्नो कार्यस्थलबाटै आगामी निर्वाचनमा मताधिकार पाउनुपर्ने मागसमेत राखे।








डिसी नेपाल






Facebook Comment