दुई पक्षको ‘साँडे जुधाइ’, कांग्रेस महाधिवेशन कहिले?
काठमाडौं। नेपाली कांग्रेस १५औं महाधिवेशनलाई लिएर ठूलो विवादमा छ। संस्थापन पक्ष मंसिरअघि महाधिवेशनको पक्षमा छैन। स्थापन इतर पक्ष भने जसरी पनि विशेष महाधिवेशन हुनुपर्ने अडानमा छ।
कांग्रेस नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै नेता गुरुराज घिमिरेलगायतले कुनै हालतमा मंसिरभित्रै महाधिवेशन हुनुपर्ने अडानमा छन्। दुवै पक्षका नेताहरूले विशेष महाधिवेशनका पक्ष र विपक्षमा ठाउँ-ठाउँमा भेला गरिरहेका छन्।
विशेष महाधिवेशन पक्षधरले त महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेर नेतृत्वलाई बुझाइसकेको छ। कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।
नेता घिमिरेका अनुसार १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन्। घिमिरेले १५औं महाधिवेशन समयमा गर्न हात जोडेर भन्दा पनि पार्टी नेतृत्वले नसुने पनि विभिन्न उपाए अपनाउनु परिरहेको बताएका छन्।
महाधिवेशन समयमा गर्ने कुरा पार्टी नेतृत्वले नसुनेपछि महाधिवेशन प्रतिनिधि साथिहरूसँग छलफल गरेर महाधिवेशनको लागि २४ सय ८८ जनाको हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको उनले बताए।
उनले भने, ‘अब हामी महाधिवेशन तर्फ लागौं, अहिलेको अवस्थालाई विवेचना गरौं। घटनाहरूलाई समिक्षा गरौ, आत्म समीक्षा गरौ ३५, ३६ वर्ष सरकार चलाउदा हामीले कतै कमजोरी त गरेनौ समिक्षा गरौं त्यसको लागि केन्द्रीय समितिको साँघुरो घेरा प्रयाप्त छैन्। त्यहाँ मात्र छलफल गरेर अब प्रयाप्त भएन त्यसकारण नियमित महाधिवेशन गरौं। १५औं महाधिवेशन गरौं, हामीले हात जोडेर भन्यौ तर पार्टीले सुनेन, पार्टी नेतृत्वले सुनेन, त्यसैले हामीले सल्लाहा गर्यौ महाधिवेशन प्रतिनिधि साथिहरुले छलफल गरेर एउटा टुंगोमा पुग्यौ। २४८८ जनाको हस्ताक्षर हामीले केन्द्रीय कार्यालयमा बुझायौं।’
यस्तै, उनले १४ औं महाधिवेशन पश्चात नै महाधिवेशनको लागि आग्रह गर्दा पनि तीन वर्ष बितेसक्दा पनि महाधिवेशनको प्रक्रिया अगाडि बढ्न नसकेको गुनासो गरे।
तर, कांग्रेको पूरानो पुस्ता विशेष महाधिवेशनको पक्षमा छैन। २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुनुपर्नेमा केही नेता महाधिवेशनमा केन्द्रित भइरहेको भन्दै संस्थापन पक्षीय नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
कांग्रेस उपसभापति धनराज गुरुङ, कार्यबहाक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, पूर्वउपसभापति बिमलेन्द्र निधिलगायत नेताहरू विशेष महाधिवेशनको पक्षमा छैनन्।
नेता निधिले डिसी नेपालसँगको कुराकानीमा प्रतिनिधि सभा निर्वाचनलाई पार्टीले बढी प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘विशेष महाधिवेशन वा नियमित महाधिवेशन निर्वाचनभन्दा पहिले गर्नु भनेको निर्वाचनमा अवरोध पुर्याउनु हो। यसले चुनावमा जाँदा कांग्रेस कमजोर हुन्छ। त्यसैमा केन्द्रित भएर हामीले छलफल गरिरहेका छौं,’ उनले भने।
केन्द्रीय समितिले यस विषयमा प्रक्रियागत निर्णय गर्ने उनको धारणा छ। ‘निर्वाचनपछि बैशाखमा महाधिवेशन गर्ने भनेर सहमहामन्त्री महेन्द्र यादवले पार्टीमा कार्यतालिका प्रस्तुत गर्नु भएको छ। हामी त्यसैको पक्षमा छौं। यो नै निर्वाचनमा भाग लिएर विजयी हुने दूरदर्शीता हो,’ उनले भने।
उनले आफूहरूको यस प्रस्तावलाई विशेष महाधिवेशन पक्षधरले सम्मानका साथ आत्मसाथ गर्ने निधिले विश्वास व्यक्त गरे। उनले महामन्त्रीद्वयको अपरिपक्वता र अदूरर्शीताले अहिलेको अवस्था सिर्जना भएको उनको आरोपछ। महामन्त्रीहरूको वैधानिक जिम्मेवारी पनि पार्टीलाई निर्वाचनमा विजयी गराउनु भएको उनको भनाइ छ।
यस्तै कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र हाल उठिरहेको महाधिवेशनसम्बन्धी बहसबारे टिप्पणी गर्दै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्छ भन्ने स्पष्ट माग डा. शेखर कोइरालाले मात्र गरेको दाबी गरेका छन्।
उनले आज विराटनगर पुगेर भदौ २२ गतेअघिसम्म केन्द्रीय समितिमा कसैले महाधिवेशन समयमै गर्नुपर्ने कुरा नउठाएको र पदावधि बढ्ला कि भन्ने आशामा सबै मौन बसेको बताए।
जेनजी आन्दोलनपछि पार्टीभित्र अचानक बहस बढेको उल्लेख गर्दै उनले महाधिवेशन समयमै गर्ने कुरा अघि उठेको भए त्यो जायज मानिन सक्ने धारणा राखे। गुरुङले सिंहदरबारसहित संरचना जलाउने तत्त्वलाई जेनजी आन्दोलनसँग जोड्नु गलत भएको उल्लेख गर्दै देशमा अस्थिरता सिर्जना गर्ने समूह सक्रिय रहेको दाबी गरे।
तर, आम कार्यकर्ता भने पार्टीको आन्तरिक विषय चाँडो टुंगोमा पुर्याएर निर्वाचनको तयारीमा होमिन नेतृत्वलाई सुझाव दिइरहेका छन्। कांग्रेस केन्द्रीय समिति बैठक भने तारन्तर सरिरहेको छ।







डिसी नेपाल








Facebook Comment