महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो : कोमल ओली
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनलाई प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, चिनापरिचय र आत्मीय सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको बताउँदै केन्द्रीय सदस्य उम्मेदवार कोमल ओलीले महाधिवेशनको माहोल अत्यन्तै सौहार्दपूर्ण र उत्साहजनक रहेको बताएकी छन्। देशभरबाट आएका प्रतिनिधिहरूसँग नजिकबाट भेट्ने, परिचय आदान–प्रदान गर्ने र राजनीतिक संवाद गर्ने अवसर नै महाधिवेशनको सबैभन्दा सुन्दर पक्ष भएको उनको भनाइ छ।
ओलीले आफूले पोस्टर, पम्प्लेट वा ठूलो खर्च नगरी सामान्य अभिवादन र प्रत्यक्ष संवादमार्फत भोट मागिरहेको बताइन्। ‘नमस्कार गरेर, कुरा गरेर भोट माग्दा प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, ‘ उनले भनिन्, ‘सबैले तपाईं जस्तो नेता चाहिन्छ भन्नु भएको छ, तर परिणाम त मतदानपछि मात्रै थाहा हुन्छ।‘
महाधिवेशनमा गोप्य मतदान हुने भएकाले भनिएको कुरा नै अन्तिम सत्य नहुने अनुभव अघिल्ला चुनावबाट सिकेको उनले बताइन्। यद्यपि यसपटक प्रयोग गरिएको इलेक्ट्रोनिक मतदान प्रणाली सहज र पारदर्शी भएको उनको धारणा छ। ‘पूरा मत नहाल्दासम्म मेसिनले स्वीकार्दैन, त्यसैले मतदान प्रक्रिया स्पष्ट र भरपर्दो छ,‘ उनले भनिन्।
ओलीले पार्टीले यसपटक युवालाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै भावी नेतृत्व युवाबाटै विकसित हुने विश्वास व्यक्त गरिन्। प्रत्येक प्रदेशबाट युवाहरूलाई पर्याप्त प्रतिनिधित्व दिइएको र उनीहरूलाई प्रशिक्षण तथा मार्गदर्शनमार्फत नेतृत्वका लागि तयार पार्ने नीति पार्टीले लिएको उनले बताइन्।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल सहित नेताहरूको उम्मेदवारीलाई आन्तरिक लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा व्याख्या गर्दै उनले एमालेभित्र प्रतिस्पर्धा, चुनाव र लोकतान्त्रिक अभ्यास सशक्त रूपमा स्थापित भएको दाबी गरिन्। “प्रतिस्पर्धाबाट उत्कृष्ट नेतृत्व छानिन्छ,” कोमल ओलीले भनिन्।
आफ्नो राजनीतिक यात्राबारे बोल्दै कोमल ओलीले २०७३ सालमा रेडियो नेपालबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको, त्यहाँ सबैभन्दा बढी मत प्राप्त केन्द्रीय सदस्य बनेको र पार्टी विघटनपछि वैचारिक रूपमा बलियो र जनमत भएको पार्टी खोज्दै एमालेमा आएको बताइन्। केपी शर्मा ओलीको नेतृत्व र व्यक्तित्वबाट प्रभावित भएर एमाले प्रवेश गरेको उनको भनाइ छ।
पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै राष्ट्रिय सभा सदस्य, केन्द्रीय सदस्य र प्रतिनिधिसभा उम्मेदवारको भूमिका निभाएको उल्लेख गर्दै उनले एमालेको राष्ट्रिय शक्ति निर्माणको संकल्पलाई सफल बनाउन प्रतिबद्ध रहने बताइन्। ‘तपाईंहरूको भोट खेर जान दिने छैन,” उनले भनिन्, ‘म जनताको सेवा, राष्ट्रको रक्षा र देशको हितका लागि सधैँ उभिरहने तपाईंहरूको छोरी हुँ।‘







डिसी नेपाल








Facebook Comment