प्रदीप खनाललाई कर्नाटकमा ‘हिन्दुस्तान गगन गौरव वर्ल्ड एनभाई फेस्ट–२०२५’ अन्तर्राष्ट्रिय पुरस्कार

डिसी नेपाल
११ पुष २०८२ १९:०५
36
Shares

भारत । नेपालका विश्व आध्यात्मिक दूत प्रदीप खनाललाई प्रतिष्ठित हिन्दुस्तान गगन गौरव वर्ल्ड एनभाई फेस्ट२०२५ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। कर्नाटक राज्य मुक्त विश्वविद्यालय, मैसुरमा आयोजित अन्तर्राष्ट्रिय समारोहमा दक्षिण एसियाका प्रतिष्ठित शिक्षाविद्, आध्यात्मिक गुरू, कूटनीतिज्ञ तथा नीतिनिर्माताहरूको उपस्थितिमा खनाललाई यो सम्मान प्रदान गरिएको हो।

उक्त पुरस्कार खनालको अद्वितीय आध्यात्मिक यात्राको सम्मान, समकालीन विश्वमा सनातन धर्मप्रति उनले पुर्‍याएको योगदान तथा विभिन्न राष्ट्रबीच जनस्तरीय कूटनीति सुदृढ गरेको असाधारण भूमिकाको कदरस्वरूप प्रदान गरिएको हो। कार्यक्रममा १० भन्दा बढी विश्वविद्यालयका कुलपति, वरिष्ठ विद्वान, वातावरणविद् तथा भारत, भूटान, श्रीलंका र नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

खनालले भारत, नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र तिब्बत (चीन) गरी छ देशका ४५० भन्दा बढी पवित्र तीर्थस्थलहरूमा दर्शन, पूजा, यज्ञ, संकल्प तथा विविध धार्मिक अनुष्ठान सम्पन्न गरेका थिए। सोही धार्मिक यात्राको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

पुरस्कार समितिले खनालको वर्तमान विश्वमा सनातन धर्मप्रतिको योगदानलाई “गहिराई, प्रभाव र पहुँचका दृष्टिले नियन्त्रण गर्नै नसकिने” भनी उल्लेख गरेको छ। खनालले आध्यात्मिक परम्पराहरूबीचको एकता, हिन्दू, बौद्ध, सिख, जैन तथा आदिवासी विश्वासबीचको सद्भाव बढाएकोमा आयोजकले प्रशंसा गरेको छ।

३० भन्दा बढी देशको भ्रमण गरिसकेका खनालले राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू, पूर्वप्रधानमन्त्री तथा राष्ट्रपतिहरू, सार्क नेतृत्व तथा अन्तर्राष्ट्रिय संस्थाहरू, बेलायती संसदसमेतका शैक्षिक तथा सांस्कृतिक मञ्चहरूमा संवाद गरेका छन्।

कर्नाटक राज्य मुक्त विश्वविद्यालयका अधिकारीहरूले खनालको व्यक्तित्वले युवालाई परम्परासँग जोड्दै विश्व नागरिकका रूपमा तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा भारत, भूटान र श्रीलंकाका प्रतिनिधिहरूले दक्षिण एसियाली सभ्यतागत सम्बन्ध सुदृढ गर्न खनालको भूमिकाको खुलेर प्रशंसा गरे। वक्ताहरूले आधुनिक कूटनीतिले अर्थतन्त्र र सुरक्षा केन्द्रित भए पनि आध्यात्मिक तथा सांस्कृतिक कूटनीतिले मात्र दीगो विश्वास निर्माण गर्ने बताए।

पुरस्कार ग्रहणपछि खनालले यो सम्मान गुरुजन, सन्त, नदी, हिमाल र पवित्र तीर्थस्थलहरूलाई समर्पण गर्दै यसलाई व्यक्तिगत उपलब्धिभन्दा सामूहिक आध्यात्मिक कृपाको फल रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.