विद्यार्थीलाई खेल सिकाउँदै भ्याली भ्यू स्कूलले मनायो खेल सप्ताह

डिसी नेपाल
११ पुष २०८२ १९:३५
32
Shares

काठमाडौं । काठमाडौंको मध्यवानेश्वरमा रहेको भ्याली भ्यु स्कूलले विद्यार्थीहरुलाई खेलकुद गतिविधिमा सहभागी गराउँदै खेल सप्ताह मनाएको छ। ४ पुसदेखि सुरु भएको खेल सप्ताहमा कक्षा मन्टेश्वरीदेखि ९ सम्मका करिब एक हजार ६ सय विद्यार्थी सहभागी भएर विभिन्न खेल प्रदर्शन गरे। विद्यालयका चारवटा सदनबाट सहभागी विद्यार्थीलाई उनीहरुको रुची अनुसारका खेलकुदमा सहभागी गराइएको थियो।

फुटसल, कबड्डी, बास्केटबल, व्याडमिन्टन, टेबलटेनिस, क्यारेमबोर्ड, रुविक क्युव, कक फाइट, स्पुन एण्ड मार्बल रेस, मेन्टल म्याथ रेसललगायतमा विद्यार्थीहरुले आफ्नो रुची अनुसार भाग लिएका थिए। विद्यालयले हरेक वर्ष खेलकुलका गतिविधि गर्दै आएको र यसले देशमा खेलकुद जनशक्ति उत्पादनमा समेत टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक सुभासचन्द्र भण्डारीले बताए। उनका अनुसार विद्यार्थीमा भएको खेल कला प्रस्तुत गर्न र उनीहरुको कला उजागर गर्न खेल सप्ताह आयोजना गरिएको हो।

विद्यार्थीहरूमा पढ्नेमात्रै नभएर धेरै कलाहरु लुकेका हुन्छन्, त्यस्ता कला र क्षमता जाँच्न, खेलकुदमा उनीहरुको रुची बढाउन, मनोरञ्जन प्रदान गर्नलगायत विभिन्न खेलहरू सिकाउन हामीले खेल सप्ताह गरेका हौं, यसले देशमा खेलाडी उत्पादनमा पनि टेवा पु¥याउने अपेक्षा हामीले लिएका छौं,’ उनले भने, ‘यस्ता गतिविधिमा विद्यार्थीहरू निकै उत्साहित बनेर सहभागी हुन्छन्, यसले उनीहरुको सिकाइमा परिवर्तन ल्याउँछ, यसपटकको खेल सप्ताहमा पनि विद्यार्थीहरुले जोसिलो प्रदर्शन देखाए।’

उनका अनुसार सदन अनुसार हरेक खेलमा प्रथम, द्धितीय, तृतीय, सान्तवना हुनेलाई पुरस्कार तथा मेडल प्रदान गरिएको छ। यसपटकको खेल सप्ताहमा कक्षा मन्टेश्वरीदेखि पाँचसम्म हेलेन सदनले जितेको छ भने ६ देखि ९ सम्म टेरेसा सदनले जितेको छ।

खेल सप्ताहको अन्तिम दिन शुक्रबार मेडल तथा पुरस्कार प्रदान गर्न भलिबल खेलका पूर्व राष्ट्रिय खेलाडी जगदिश प्रसाद भट्टलाई निमन्त्रणा गरिएको थियो। खेलकुदमा सहभागी विद्यार्थीहरुलाई मेडल प्रदान गर्दै पूर्व खेलाडी भट्टले विद्यार्थीले आफूमा भएको क्षमता जाँच्न यस्ता प्रतियोगिताहरुले सहयोग पुर्‍याउने बताए।

विद्यालयस्तरमा हुने यस प्रकारका गतिविधिले विद्यार्थीमा भएका खेल कला र क्षमता प्रदर्शन गर्न मद्दत पुग्छ, यसले विद्यालय र विद्यार्थी दुवैलाई फाइदा गर्छ, कोहि राम्रो खेल्न जानेको छ भने उसको खेलकुद जीवनको यात्रा यहीबाट पनि सुरु हुन सक्छ,’ उनले भने, ‘विद्यालयले गरेका यस्ता खेलकुद गतिविधिले खेल क्षेत्रलाई समेत उकास्न सक्छ, हरेक विद्यार्थीले आफूमा भएको कला क्षमता समाजको भलो र राष्ट्र निर्माणको निम्ति प्रयोग गरौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.