समाजसेवी सुवेदी र बोगटीद्वारा च्यूरीडाँडा माविमा विद्यालय पोशाक र ब्याग वितरण
ओखलढुङ्गा। ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका – १ स्थित च्यूरीडाँडा माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा स्कुल ब्याग वितरण गरिएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई समेत ब्याग प्रदान गरिएको छ।
शिक्षा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित उक्त सहयोग कार्यक्रम लिखु गाउँपालिका-१ निवासी युवा व्यवसायी तथा समाजसेवी अनिलराज सुवेदी र चम्पादेवी गाउँपालिका-१० निवासी मनोज बोगटीको पहलमा सम्पन्न भएको हो। यस सहयोगको विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले सराहना गरेका छन्।
विद्यालयका प्रधानाध्यापक नोमराज सुवेदीले सहयोगले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि हुनुका साथै शिक्षण-सिकाइ वातावरण अझ सकारात्मक, प्रेरणादायी र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनले शिक्षालाई सामाजिक उत्तरदायित्वका रूपमा आत्मसात गर्दै गरिएको यो कार्य प्रशंसनीय र अनुकरणीय रहेको बताए।
यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कर्कीले समाजसेवी सुवेदी र बोगटीले विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा ब्याग र शिक्षक-कर्मचारीहरूलाई ब्याग उपलब्ध गराई शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य निरन्तर हुने अपेक्षा समेत गरे ।
यसैगरी, लिखु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर कार्कीले पनि उक्त सहयोगप्रति आभार व्यक्त गर्दै समाजसेवीहरूको पहलले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यस्ता सकारात्मक सामाजिक कार्यले स्थानीय तहमा शिक्षा प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।
विद्यालय परिवारले दुवै समाजसेवीको उत्तरोत्तर प्रगति, उन्नति र सफलताको कामना गर्दै भविष्यमा पनि यस्तै सकारात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment