थारु राष्ट्रिय माघी महोत्सव २०८२ पुस ३० र माघ १ गते टुँडिखेलमा

डिसी नेपाल
२८ पुष २०८२ १६:४६
4
Shares

काठमाडौं । थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यसहित थारु राष्ट्रिय माघी महोत्सव२०८२ आगामी पुस ३० र माघ १ गते (बुधबार र बिहीबार) काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ।

‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा सहित थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा ३० वटा थारु संघसंस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो।

महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीका अनुसार माघी पर्व थारु समुदायको महान पर्व मात्र नभई नयाँ वर्ष, सामाजिक एकता, स्वतन्त्रता र आत्मपहिचानको प्रतीक हो। माघी पर्व थारु समुदायले मेचीदेखि महाकालीसम्म विभिन्न नाम र परम्पराअनुसार मनाउँदै आएको उनले बताए।

महोत्सवमा थारु सांस्कृतिक झाँकी, मौलिक नृत्य तथा गीत, थारु खानपान प्रदर्शनी, हस्तकला र पुस्तक प्रदर्शनी, मोटरसाइकल ¥याली, ‘जिता मर्ना’ कार्यक्रम तथा विभिन्न क्षेत्रमा योगदान पु¥याएका थारु व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएका छन्।

थारु समुदायका परम्परागत परिकार ढिक्री, खिचरी, अन्डिक भात, तिलको लड्डु, जाँड, माछा, सुँगुरको मासु, सिधरा, आलुसिन्की, काथ्या रोटीलगायतका परिकार महोत्सवमा सर्वसुलभ मूल्यमा उपलब्ध हुनेछन्।

महोत्सवमा करिब १०० वटा स्टल रहनेछन् भने थरुहट तराईका विभिन्न जिल्लाबाट मघौटा, सखिया, झुमा, हुर्दगंवा, होरी, बडोनाचलगायत दुई दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ।

महोत्सवको माघ १ गते दिउँसो १२ बजे नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा भव्य उद्घाटन हुने कार्यक्रम छ। महोत्सव सफल बनाउन करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रचारप्रसारका लागि गोरखापत्रको नयाँ नेपाल थारु भाषा पृष्ठसहित विभिन्न अनलाइन तथा डिजिटल मिडियालाई आधिकारिक मिडिया बनाइएको आयोजकले जानकारी दिएको छ।

आयोजक समितिले महोत्सवलाई सभ्य र भव्य बनाउन सञ्चारकर्मी, आदिवासी जनजाति, युवा, महिला, विद्यार्थी, व्यवसायी र सर्वसाधारणलाई सहभागी हुन आह्वान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.