सिमरामा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक विषयमा गहन छलफल
काठमाडौं । राष्ट्रिय साना सहकारी खानेपानी उपभोक्ता महासंघका पदाधिकारीहरू र सिमरा खानेपानीसहित पाँचवटा खानेपानी संस्थाबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूबीच खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषय र संस्थागत समस्याबारे गहन छलफल सम्पन्न भएको छ।
सिमरा खानेपानी संस्थाको कार्यालयमा आयोजित छलफलमा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरूबारे विस्तृत विचार–विमर्श गरिएको थियो। छलफलका क्रममा स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षताको अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयजस्ता विषयहरू उठान गरिएको थियो।
त्यसैगरी, साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूलाई कसरी सुदृढ बनाउने, क्षमता विकास, सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उपायहरूबारे समेत धारणा आदान–प्रदान गरिएको थियो। महासंघका पदाधिकारीहरूले संघीय संरचनाभित्र खानेपानी तथा सरसफाइ संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने, नीति निर्माण तहमा संस्थाहरूको आवाज मजबुत बनाउने तथा प्रदेश र स्थानीय तहसँग सहकार्य विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।
छलफलका क्रममा सिमरा खानेपानी संस्थाले आफ्ना अनुभव, अभ्यास र विद्यमान समस्याहरू प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि साझा पहल अपरिहार्य रहेको स्पष्ट पारेको थियो। छलफलले खानेपानी तथा सरसफाइ क्षेत्रका साझा समस्याहरू पहिचान गर्न, आपसी सहकार्य र समन्वयलाई सुदृढ बनाउन तथा संस्थागत सुधारका लागि मार्गचित्र तयार गर्न महत्वपूर्ण योगदान पुगेको निष्कर्ष निकालिएको छ।







डिसी नेपाल








Facebook Comment