राष्ट्रपतिद्वारा कुमारीबाट टीका ग्रहण

डिसी नेपाल
१ असोज २०७६ ०:०४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीबाट टीका ग्रहण गरेकी छन्। आज राति इन्द्रजात्राको समापन (भाद्र शुक्ल चतुर्दशी) को दिन उनले कुमारीबाट टीका ग्रहण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गरेको राजगुरुजु (कुमारीका गुरुजु) मञ्जुश्रीराज बज्राचार्यले जानकारी दिए। हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहेको छ।

रथयात्रा नगरको विभिन्न ठाउँमा घुमाएर हुनमानढोकास्थित कुमारी घरमा कुमारी पुगेपछि राष्ट्रपति भण्डारीलाई टीका लगाइदिएका हुन्। टीका ग्रहण गरेपछि कुमारीका गुरुजु बज्राचार्यबाट राष्ट्रपति भण्डारीले आगमको प्रसाद ग्रहण गरे।

इन्द्रजात्राको अन्तिम दिन आज कुमारी, गणेश र भैरवसहितको रथयात्रा साँझ साढे ६ बजे हनुमानढोकास्थित कुमारी घर अगाडिबाट निकालिएको थियो।

उक्त रथयात्रा प्याफल, नरदेवी, किलागल, भैंडासिंह, इन्द्रचोक हुँदै पुनः हनुमानढोकामा पुगेको थियो। हनुमानढोकामा रथयात्रा पुगेपछि कुमारीलाई पञ्चबुद्ध गुरुजुले शान्ति स्वस्तिक गरेर भित्र लैजान्छन्।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व आज भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिएको छ। भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गो बुधबार बिहान साढे ५ बजे ढालिनेछ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *