खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

डिसी नेपाल
२७ असार २०८३ ७:०८

खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खास्थित मोरियामा खुकुरी प्रहारबाट ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएको छ।

घरायसी विवादका कारण बिहीबार भएको यस घटनामा अधिकारीको ज्यान गएपछि प्रहरीले हत्या आरोपमा एकै घरका तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सोही स्थानका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र २२ वर्षीया छोरी सीता सार्की रहेका छन् ।

घटना लगत्तै मुख्य आरोपित तीलकबहादुर पक्राउ परेका थिए भने उनकी श्रीमती र छोरीलाई मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा शुक्रबार नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घटना घटे लतिगत्तै तीलकबहादुर आफैँले फोन गरेर प्रहरीलाई सम्पर्क गरेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको खुलेको छ।

अधिकारी मुख्य आरोपित तीलकबहादुरको घरमा आफूले गरेको मजदुरीको पारिश्रमिक माग्न गएका थिए। सोही क्रममा दुई पक्षबीच विवाद बढ्दै जाँदा सार्कीले खुकुरी प्रहार गरेका थिए, जसका कारण अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाका सबै आरोपितहरूलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा अन्तर्गत कानुनी कारबाही र थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।

मृतक अधिकारीको शवलाई कानुनी प्रक्रिया अनुसार परीक्षण (पोष्टमार्टम) गराई आवश्यक प्रक्रिया पूरा गरेर आफन्तको जिम्मा लगाइएको सूचना अधिकारी बस्नेतले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *