वन्यजन्तु आक्रमणका पीडित परिवार भेट्न मन्त्री चौधरी चितवनमा, प्रभावितलाई आर्थिक सहयोग र दीर्घकालीन समाधानको प्रतिबद्धता
चितवन। बागमती प्रदेशकी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित भएका परिवारहरूको घरमै पुगेर भेटघाट गरेकी छन्।
पीडित परिवारसँगको भेटका क्रममा उनीहरूको अवस्था बुझ्दै मन्त्री चौधरीले संकटको यस घडीमा सरकार सधैं पीडितको साथमा रहेको र राहत तथा पुनस्थापनाका लागि प्रतिबद्ध रहेको बताएकी हुन्।
गएको असार २० गते राति करिब ११:३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका-१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका-२३, बेलहट्टामा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो। उक्त हृदयविदारक घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्।
यसै सिलसिलामा मन्त्री चौधरीले सोही वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका स्थानीय सूर्य महतो र मंगले बोटेलाई समेत भेटेर उनीहरूको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएकी छन्। भेटघाटका क्रममा घाइतेहरूको जीविकोपार्जनमा राहत पुगोस् भन्ने उद्देश्यले प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिइएको छ।
मन्त्री चौधरीले मानव–वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नु सरकारको मुख्य प्राथमिकताको विषय रहेको उल्लेख गर्दै पीडितहरूलाई समयमै उचित राहत, निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाइने विश्वास दिलाएकी छन्।
साथै, निकुञ्ज आसपासका क्षेत्रमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिनका लागि सम्बन्धित सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन र द्वन्द्व व्यवस्थापनको दीर्घकालीन समाधानका लागि ठोस योजनाहरू तत्काल कार्यान्वयन गर्न उनले निर्देशन समेत दिएकी छन्।






डिसी नेपाल





Facebook Comment