तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

डिसी नेपाल
८ माघ २०८२ २१:५९
20
Shares

गलेश्वर। बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन हजार २२ विद्यार्थीको मुटुको परीक्षण गरिएको छ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी र बेनी सामुदायिक माविमा विद्यार्थीको मुटुको परीक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीका अध्यक्ष रामजीप्रसाद सुवेदीले बताए। शिविरमा एक सय विद्यार्थीको मुटुको भिडियो एक्स–रे (इकोकार्डियोग्राफी) मार्फत परीक्षण गर्दा तीन विद्यार्थीको मुटुको उपचार गर्नुपर्ने पाइएको उनले बताए।

शिविरमा एक सय शिक्षक, कर्मचारीलगायतको स्वास्थ्य परीक्षण गरिएको थियो। म्याग्दी जिल्लामा प्रतिष्ठानको एकाइ गठन भएपछि पहिलोपटक आयोजित शिविरमार्फत जटिल समस्या देखिएका विद्यार्थीको निःशुल्क उपचार गरिएको हो।

मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यसहित ६ चिकित्सक टोलीले बालमन्दिर मावि, जडभरत आधारभूत विद्यालय, म्याग्दी बहुमुखी क्याम्पस, हंसबाहिनी आधारभूत विद्यालय, जामुनाखर्क मावि, सरस्वती मावि तातोपानी, सरस्वती आधारभूत विद्यालय बगरफाँटका विद्यार्थीलाई लक्षितगरी शिविर सञ्चालन गरिएको हो।

बाथ रोगलाई हेल्चेक्रयाइँ गर्दा बालबालिकामा मुटुको समस्या देखिने गरेको डा वैधको भनाइ छ। शिविरको बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो। सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाललगायतको उपस्थिति थियो।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंका पूर्वअध्यक्ष दीपेन्द्र पुरुष ढकालले बालबालिकामा देखिनसक्ने जन्मजात तथा बाथ, मुटुरोगको समयमै पहिचान गरी उपचारमा सहयोग पुर्‍याउनका लागि विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको बताउनुभयो। म्याग्दीमा प्रतिष्ठानमार्फत ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गर्ने योजना छ। आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा सघाउने प्रतिष्ठानका जिल्ला सचिव केशवप्रसाद रेग्मीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.