जेनजी पुस्ताको श्रम र सिर्जनालाई सम्मान
बिर्तामोड। श्रम, सिर्जना र आत्मनिर्भरतामार्फत समाजमा सकारात्मक परिवर्तनको सन्देश फैलाइरहेका झापाका १५ जना जेनजी युवालाई ‘पौरखी जेनजी सम्मान’ प्रदान गरिएको छ।
काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका युवालाई सम्मान गरिएको हो। सोही अवसरमा लोकतन्त्र पोष्टद्वारा प्रकाशित ‘पौरखी जेनजी’ विशेष म्यागजिन–२०८२ को लोकार्पण गरिएको थियो।
सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष महेन्द्रकुमार गिरीको संयोजकत्वमा गठित छनोट समितिले जिल्लाभरिबाट छनोटमा परेका १५४ जना जेनजीमध्ये विभिन्न क्षेत्रका १५ जनालाई सम्मानका लागि चयन गरेको हो। म्यागजिनमा उनीहरूको सङ्घर्ष, श्रम, सिर्जनशीलता र सफलताका कथा समेटिएका छन्।
प्रधान सम्पादक मोहनकाजी न्यौपानेले जेनजी पुस्ताबाट प्रेरणा प्रदान गर्ने र समाजमा सकारात्मक धारणा प्रवाह गर्ने उद्देश्यले म्यागजिन प्रकाशन गरिएको जानकारी दिए। “पौरखी जेनजी केवल म्यागजिन होइन, आफ्नै माटोमा पसिना बगाएर सम्भावना सिर्जना गरिरहेका युवाको आन्दोलनको दस्ताबेज हो”, उनले भने, “जेनजीलाई नकारात्मक दृष्टिले होइन, परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्नु हाम्रो ध्येय हो।”
सम्मानित हुनेमा ‘कन्टेन्ट क्रिएटर’ स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराँते खेलाडी कृपा चापागाईं, डा चेतनराज कार्की, गायिका रचना रिमाल, नवप्रवर्तनकर्ता सबिन बास्कोटा, गायक तथा कलाकार अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियन्ता हरिकृष्ण भण्डारी, पर्वतारोही जयराम दाहाल, फुटबलर अनन्त तामाङ, अभियन्ता तनुजा पाण्डे, क्रिकेटर अङ्कित सुवेदी, नवप्रवर्तन समूह राहुल–तेज–उत्सव तथा कला क्षेत्रमा सक्रिय मनिषा राजवंशी रहेका छन्।
प्रालिका अध्यक्ष चन्द्रकला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लोकतन्त्र पोष्टले पत्रकारिता, सामाजिक चेतना र लोकतान्त्रिक मूल्य प्रवर्द्धनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। सम्मानित युवाहरूले आफूहरूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment